आजको यान्त्रिक जीवनशैलीमा मानिस दौडधुप, तनाव, मानसिक अशान्ति र शारीरिक कमजोरीको सिकार भइरहेका छन्। वृद्धदेखि युवासम्म, विद्यार्थीदेखि कर्मचारीसम्म, राजनीतिज्ञदेखि व्यापारीसम्म सबैजना कुनै न कुनै दबाबमा छन्। यस्तो समयमा योग अभ्यास एउटा सहज, प्रभावकारी र प्राकृतिक उपाय हो, जसले शारीरिक स्वास्थ्य, मानसिक स्थिरता र आध्यात्मिक उन्नतिमा सहयोग गर्छ।
योग भनेको केवल शारीरिक व्यायाम मात्र होइन, यो जीवन बाँच्ने कला पनि हो। योग हाम्रो सनातन जीवनशैली अभ्यास हो। यसैको पुष्टि पतञ्जलि ऋषिले पतञ्जलि योग सूत्रमा गरेका छन्।
पतञ्जलि योगसूत्र के भन्छ?
‘योगश्चित्तवृत्तिनिरोधः’ (पतञ्जलि योगसूत्र– १.२) अर्थात् योग भनेको चित्तका विकारहरूको नियन्त्रण गर्नु हो। आज हामी मानसिक तनाव, चिन्ता, डर, असन्तुलनको सिकार भएका छौं भन्दा अत्युक्ति नहोला। योग अभ्यासले हाम्रो मनलाई स्थिर बनाएर हामीलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सन्तुलित बनाउँछ।
‘तदा द्रष्टुः स्वरूपेऽवस्थानम्’ (पतञ्जलि योगसूत्र– १.३) जब चित्त शुद्ध हुन्छ, तब आत्मा आफ्नो वास्तविक स्वरूपमा स्थित हुन्छ। अर्थात् योग अभ्यासले हामीलाई हाम्रो आत्मिक प्रकृतिमा फर्काउँछ। हामी संसारमा तनावमा रहनुको कारण हो– हामी स्वविस्मृत भएर बाहिरको भागदौड र धन आर्जनमा मात्र कुद्नु। बहिर्मुखी प्रशंसा, प्रसन्नता र भोगले योगबाट हामी टाढा भएका छौं। भोगसँगै योग अति महत्त्वपूर्ण छ मानव जीवनमा।
व्यस्त जीवनशैलीमा शारीरिक स्वास्थ्यका लागि योग
आजको व्यस्त तालिकाका कारण मानिसले शरीरमा थकान, कम्मर दुख्ने, अनिद्रा, उच्च रक्तचाप, मोटोपनजस्ता समस्या भोगिरहेका छन्। योगासन जस्तै– ताडासन, भुजङ्गासन, वृक्षासन, पश्चिमोत्तानासन आदिले शरीरको लचिलोपन, रक्तसञ्चार र स्नायुप्रणाली सुधार गर्न सहयोग गर्छ। नियमित योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।
मानसिक स्वास्थ्य र योग
अहिलेको विश्वमा मानसिक स्वास्थ्य सबैभन्दा चिन्ताजनक विषय बनेको छ। अति अपेक्षा, अति महत्त्वाकाङ्क्षाले मानसिक दबाब, डिप्रेसन, बेचैनी बढिरहेको सुन्नमा आइरहेको र मानिसले त्यस्तो जीवनशैली भोगिरहेका पनि छन्। ध्यानको कमीले गर्दा बेहोसी, बिर्सिने बानी आदि समस्या दिन प्रतिदिन बढिरहेका छन्। नियमित योग, प्राणायाम र ध्यानले तनाव, चिन्ता, डिप्रेसन, अनिद्राजस्ता समस्यालाई कम गर्छ। यसले मनलाई शान्त, स्थिर र सकारात्मक बनाउने काम गर्छ, जसले भावनात्मक सन्तुलन र आत्मविश्वास बढाउँछ।
योगले मस्तिष्कमा सन्तुलन ल्याई एकाग्रता र स्मरणशक्तिसमेत वृद्धि गर्छ। मानसिक शुद्धता र आन्तरिक शान्तिका लागि योग प्रभावकारी साधन हो। अनुलोम–विलोम, भ्रामरी, नाडीशोधन, ओम् जपले मानसिक स्पष्टता, स्थिरता र सन्तुलन प्रदान गर्छ। दत्तचित्त लगाएर योगाभ्यासलाई प्रत्येक दिन एक घण्टा समय दिने हो भने मानसिक स्वास्थ्य पनि सुन्दर बनाउन सकिन्छ। योग गर्ने व्यक्तिले आफ्नो जीवनमा यसलाई पुष्टि गरिसकेका छन्।
पतञ्जलि योगसूत्रमा भनिएको छ: ‘अभ्यासवैराग्याभ्यां तन्निरोधः’ (१.१२)। अर्थात् अभ्यास (नियमित योग) र वैराग्य (अशक्तता) बाट चित्तको नियन्त्रण सम्भव हुन्छ। जब योगाभ्यासमा लिन भइन्छ, अनावश्यक चिन्ता, वैराग्य र अल्छीपना स्वतः निष्क्रिय हुन्छ र तनमन प्रफुल्ल, स्वस्थ र ऊर्जावान महसुस हुन्छ।
युवापुस्ताका लागि योगको आवश्यकता
आजको युवापुस्ता अस्थिरता र प्रतिस्पर्धाको जालमा अल्झिएको छ। स्मार्टफोन, सामाजिक सञ्जाल, अनियमित खानपान, अनिद्रा, अध्ययनको तनाव र भविष्यको अनिश्चितताले धेरै युवा तन र मन दुवैबाट थकित र भ्रमित छन्। ध्यान केन्द्रित गर्न, आत्मबल बढाउन र सही निर्णय क्षमताका लागि योग अपरिहार्य छ। योगले उनीहरूमा आत्मविश्वास, अनुशासन र आत्मचिन्तन शक्तिको विकास गर्छ।
युवाहरूको मानसिक स्थिरता र स्पष्ट सोचका लागि योग अति नै आवश्यक छ। किनकि ध्यान र प्राणायाम अभ्यासले युवाहरूको मन शान्त बनाउँछ। परीक्षा, करियर, र सम्बन्धको तनावबाट छुटकारा दिन सहयोग गर्छ। योगले ध्यान केन्द्रित गर्न सक्ने क्षमता वृद्धि गर्छ, जसले पढाइ र निर्णयमा स्पष्टता ल्याउँछ। शारीरिक स्वास्थ्य र जीवनशैली सुधारका लागि युवालाई ध्यान र योगको महत्त्व छ। लामो समय मोबाइल वा ल्यापटपमा बस्दा हुने मेरुदण्ड, आँखा वा तौलसम्बन्धी समस्याको समाधान योगमार्फत सम्भव हुन्छ। सूर्य–नमस्कार, वृक्षासन, त्रिकोणासन, भुजङ्गासनजस्ता योगासनले शरीरमा लचिलोपन, स्फूर्तता र ऊर्जा ल्याउँछ।
त्यति मात्र नभएर सामाजिक मूल्य र आत्मानुशासनको विकास गर्न योग जरुरी छ, किनकि योग केवल शारीरिक अभ्यास होइन, जीवन पद्धति हो। योग अभ्यासले सत्य, अहिंसा, सन्तोष र तपस्याको शिक्षाद्वारा युवामा आत्मसंयम र सामाजिक उत्तरदायित्व विकास गराउँछ। दुव्र्यसनमुक्त जीवनको आधार योग बन्न सक्छ। नसा, डिप्रेसन, आत्महत्याजस्ता समस्याबाट युवालाई जोगाउन योग अभ्यास प्रभावकारी छ। किनकि, ध्यान र प्राणायामले न्युरोलोजिकल सन्तुलन कायम राखेर तनाव र व्यसनप्रतिको आकर्षणलाई घटाउँछ।
युवापुस्ता देशको भविष्य मात्र होइन, वर्तमानको शक्ति पनि हो। यदि यो शक्ति भ्रमित भयो भने समाज दिशाहीन हुन्छ। युवाशक्ति सजग भयो भने परिवर्तनको मूल स्रोत बन्छ। यसका लागि योग एक अद्भुत साधन हो, जुन शान्त, सबल र सचेत युवाशक्ति निर्माणको आधार हो। ‘योग गर्न थालेपछि म तनावमा होइन, आफ्नै मनको नियन्त्रणमा छु’ भन्ने भावनाको विकास आजको युवा पुस्तामा हुनु अत्यावश्यक छ।
वृद्धावस्थामा योगको भूमिका
वृद्धावस्थामा शरीर कमजोर हुँदै जान्छ, हड्डी, जोर्नी, पाचन प्रणाली प्रभावित हुन्छन्। यस्तो अवस्थामा हल्का योगासन, प्राणायाम र ध्यान अभ्यासले दीर्घकालीन स्वास्थ्य रक्षा गर्छ। ‘सतत अभ्यास गर्ने व्यक्ति कहिल्यै ढिलो गर्दैन’ योगसूत्रले भनेझैं जुनसुकै उमेरमा योग सुरु गर्दा पनि लाभ पाउन सकिन्छ। त्यसैगरी वृद्धावस्था शारीरिक रूपले कमजोर हुँदै जाने, मनोवैज्ञानिक रूपमा अकेलोपन महसुस हुने र सामाजिक रूपमा आश्रित बन्ने अवस्था हो।
यस्तो समयमा योग एक अमूल्य साथी हो, जसले तन, मन र आत्मालाई सन्तुलित राख्न सहयोग गर्छ। सहज योगले शारीरिक लचिलोपन र शक्ति संरक्षण गर्छ। हल्का योगासन जस्तै ताडासन, पवनमुक्तासन, शवासन र वृक्षासनले हड्डी, स्नायु र श्वासप्रश्वास प्रणालीलाई सक्रिय राख्छ। यसले जोर्नी दुख्ने, कब्जियत, उच्च रक्तचाप र निद्राको समस्यामा सुधार ल्याउँछ।
ध्यान, भ्रामरी प्राणायाम, ओम् जपले वृद्ध व्यक्तिको मनलाई शान्त राख्छ। यो एक्लोपन, डर र बिथोलिएको भावना व्यवस्थापन गर्न उपयोगी हुन्छ। सहज योग स्मृति शक्ति र चेतनाको वृद्धिका लागि पनि महत्त्वपूर्ण छ। प्रत्येक दिनको साधनाले वृद्धवृद्धाको स्मरण शक्ति, ध्यान एकाग्रता र मानसिक स्पष्टता बढाउन सहयोग पुर्याउँछ। आत्मिक उन्नति र जीवनको स्वीकार्य दर्साउँछ। वृद्धकालमा योगले जीवनको परिवर्तनशीलता स्वीकृत गर्न मद्दत गर्छ। मृत्युको डर, पछुतो वा असहायपन कम गर्न, योगले आत्म–चिन्तन र आध्यात्मिक सन्तुलन प्रदान गर्छ।
पतञ्जलि योगसूत्रले पनि भन्छः
‘दुःखदमनानुसन्धानं तद्विरोधी विषयवैराग्यम्’ अर्थात् योगले दुःख कम गर्दै विरक्तिको भाव ल्याउँछ, जुन वृद्धजीवनमा अत्यन्त उपयोगी छ।
योग: समयको माग र जीवनशैलीको अङ्ग
आज हामीले योगलाई विकल्पका रूपमा होइन, जीवनशैलीको अनिवार्य अङ्गका रूपमा स्वीकार गर्नुपर्ने समय आएको छ। हरेक दिन केवल ३० मिनेटदेखि एक घण्टाको योग अभ्यासले दीर्घकालीन रूपमा तन, मन र आत्मा तिनै क्षेत्रलाई लाभ पुर्याउँछ। योग कुनै धर्म, जात वा संस्कृतिमा सीमित विधि होइन, यो त मानव जीवनलाई सन्तुलित बनाउने सार्वभौम विज्ञान हो।
व्यस्त जीवनशैली, मानसिक असन्तुलन र शारीरिक थकानबाट मुक्त हुने मार्ग हो योग। पतञ्जलिको शब्दमा– ‘स तु दीर्घकाल नैरन्तर्यसत्कारासेवितो दृढभूमिः’ अर्थात् दीर्घकालसम्म श्रद्धापूर्वक र निरन्तर अभ्यास गरिएको योग अभ्यासले नै जीवनमा स्थायित्व दिन्छ। यसकारण, जसले योग अभ्यासलाई समय दिएका छैनौं, आजैदेखि योगलाई आफ्नो दिनचर्यामा समावेश गरौं। जसले योग अभ्यास गर्दै आइरहेका छौं, निरन्तरता दिऊँ र शरीर स्वस्थ, मन शान्त र आत्मा प्रफुल्लित बनाऔं।