---Advertisement---

“विषादी औषधि होइन, बिख हो”

On: June 21, 2025 8:13 PM
Follow Us:

 बेनी नगरपालिका अन्तर्गत सञ्चालनमा ल्याइएको ‘एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) कृषक पाठशाला’ प्रभावकारी बन्दै गएको छ । पाठशालाको माध्यमबाट स्थानीय किसानले प्राङ्गारिक विधिमा आधारित व्यावसायिक तरकारी तथा खाद्यबाली उत्पादनमा व्यावहारिक सीप आर्जन गर्दै आएका छन् ।
बेनी नगरपालिका–१, आनन्दबगरका कृषक रुद्रबहादुर थापामगर अब खेतबारीमा कुटो–कोदालो मात्र होइन, कापी–कलम पनि लिएर जान्छन्। उनीजस्तै २५ किसान गत पुसदेखि चलिरहेको पाठशालामा सहभागी भई खेतबारीमै सैद्धान्तिक र व्यावहारिक ज्ञान लिँदै आएका छन् ।

खेतीमै पढाइ र प्रयोग
कृषक पाठशालामा सहभागीहरूले गोँलभेडा, काउली, खुर्सानी, सिमी, आलु, धान, गहुँ, सुन्तला लगायत बालीमा उन्नत बीउ छनोटदेखि खेती, गोडमेल, जैविक मलको प्रयोग, रोग–कीरा व्यवस्थापन र बजारीकरणसम्मका विषयमा साप्ताहिक चार घण्टा प्रशिक्षण लिइरहेका छन् । 
कृषक सरिता बानियाँ खड्का भन्छिन्, “खेतीबालीको रोग र कीराको चिनारी, त्यसको स्थानीय उपचार, र विषादीरहित उत्पादन प्रविधि सिक्न पाएका छौँ ।” उत्पादनमा प्रयोग हुने जैविक मल तथा वानस्पतिक विषादी स्थानीय स्रोतबाट नै तयार पार्ने अभ्यास गरिँदै आएको छ

प्रत्यक्ष प्रयोगमा आधारित सिकाइ
डम्मरामा सञ्चालन भएको कोसेबाली सिमी पाठशालामा स्थानीय किसानले प्याजका पात, केतुकी, असुरो, पाती, वस्तुभाउको मूत्र आदिबाट जैविक विषादी तयार गरेर प्रयोग गरेका छन् । किसान झरना थापा बताउँछिन्, “पहिले बजारबाट विषादी किन्थ्यौँ, अब घरमै जैविक झोल बनाउँछौँ, प्रभाव पनि राम्रो छ ।”
पाठशालाले ल्याएको रूपान्तरण
बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा वडा नं. १ देखि ९ सम्मका विभिन्न स्थानमा गोँलभेडा, सिमी, आलु, खुर्सानी लगायत बालीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । हरेक समूहका लागि रु १ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । जिल्लाका अगुवा कृषकहरू सहजकर्ता बनेर साप्ताहिक प्रशिक्षण लिइरहेका किसानलाई खेतमै ज्ञान दिइरहेका छन् ।
नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गाना भन्छिन्, “यस कार्यक्रमले किसानलाई जैविक खेतीतर्फ प्रेरित गरेको छ । रासायनिक विषादीलाई विकल्प होइन, अन्तिम उपायको रूपमा बुझ्न सिकाइएको छ ।”

रासायनिक विषादी होइन, जैविक विकल्प
सहजकर्ता सोवित शर्माका अनुसार पाठशालाले किसानलाई ूविषादी औषधि होइन, बिख होू भन्ने चेतना दिन सफल भएको छ । खेतीबालीमा प्रयोग गरिने रासायनिक विषादीले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले जैविक विकल्प अपनाउन सिकाइएको हो ।
अर्का सहजकर्ता क्षेत्रबहादुर कटुवालले पनि स्थानीय स्रोतबाट विषादी बनाउने सीप सिकाइएको र सुरक्षित कृषि प्रणालीले उत्पादन मात्र होइन, उपभोक्ताको स्वास्थ्य पनि जोगाउने बताए ।

Source:-रासस