सिपमूलक व्यवसाय सञ्चालन गर्ने जनशक्ती उत्पादन गर्न म्याग्दीको सदरमुकाम बेनीमा रहेको पिस साइन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरको १८ औं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाईटीको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछाने पौडेलले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका सभापति संगम चोखाल, लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष बिरेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

अस्पतालभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभावकै कारण बिरामीको उपचारमा समस्या भएको जानकारी पाउँदा वित्तिकै रक्तदानका लागि दाताहरु तत्कालै पुग्ने गरेका छन् । म्याग्दीमा संकलन गरिएको रगत बागलुङ, पर्वत र कास्कीका बिरामीका लागि पठाउने गरिन्छ ।

पिस साइनकी सञ्चालिका प्रमिला जोशी श्रेष्ठले न्यूरोड र क्याम्पस चोकमा रहेको शाखाबाट कम लगानी, व्यवसायप्रतिको बढ्दो आकर्षण र बैदेशिक रोजगारीमा जाने यूवतीहरूलाई तालिमका साथै आर्थिक रुपमा विपन्नलाई निशुल्क तालिम दिने गरेको बताउनुभयो । सौन्दर्यको पक्ष पनि मानिसको एक गहना भएकाले बेरोजगार महिला तथा किशोरीहरुलाई सिप सिकाएर रोजगारको सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित व्युटीपार्लर तालिम सेन्टर सहयोगी बनेको सञ्चालिका जोशीको भनाई छ ।


