मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र जिल्लाकै ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक खण्ड अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरो विकल्पमा वैकल्पिक बेलीब्रिज बन्ने निश्चित भएको छ । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को सक्रिय पहलमा संघीय भौतिक पुर्वाधार तथा यातायात ा मन्त्रालयले बेलीब्रिज उपलब्ध गराउने सहमती जनाएपछि पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलीब्रिज बन्ने निश्चित भएको हो ।
बेनी नगरपालिका–४, र मंगला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत पहिरोका कारण दुई दशक भन्दा लामो समयदेखि म्याग्दीबासीले सास्ती व्यहोर्दै आएका छन् ।सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवतजावत बन्द हुने र ढुङ्गा, माटोसहितको पहिरो खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ ।

‘लामो समयको निरन्तर प्रयासपछि म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख)को सिमानामा पर्ने फापरखेत पहिरो विकल्पमा म्याग्दी नदीमाथि बेलिब्रिज संगै वैकल्पिक सडक बन्ने निश्चित भएको छ ,’ राज्यमन्त्री गर्बुजाले भन्नुभयो ,‘बेलीब्रिज र सडक बनेपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र जिल्लाकै ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक खण्डमा पर्नेउक्त क्षेत्रमा पहिरोको कारण वर्षौदेखि म्याग्दी संगै पश्चिम बागलुङबासीले खेप्दै आएको सास्ती हट्नेछ ।’
म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित राज्यमन्त्री गर्बुजाले उक्त पहिरो क्षेत्रमा दिर्घकालिन समस्या समाधानका लागि पहल जारी रहेको जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले पनि उक्त पहिरोको विकल्पमा वैकल्पिक सडक निर्माण गर्नका लागि आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ । साउन महिनाको पहिलो सातादेखि नै बेलीब्रिज र सडक निर्माण सुचारु गर्नेगरी समन्वय भइरहेको राज्यमन्त्री गर्बुजाको सचिवालयले जनाएको छ ।
राज्यमन्त्री गर्बुजाले बेलीब्रिजका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । ‘बेलीब्रिज उपलब्ध गराउन विशेष सहयोग गर्नुहुने नेपाल सरकारका गृहमन्त्री रमेश लेखक ,नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ,भौतिक सचिवकेशव कुमार शर्मा ,गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे ,प्रदेश सभाका सदस्य ,स्थानीयतहका जनप्रतिनिधि लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
गत वर्ष उहाँकै नेतृत्वमा मंगला गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, सडक डिभिजन बागलुङका प्राविधिक र स्थानीयबासी लगायतको टोलीद्धारा प्रस्तावित स्थानको प्रारम्भिक अध्ययन गरिएको थियो । गाउँपालिका उपाध्यक्ष क्षत्रीले ,मंगला–२, बाबियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षत्री लगायत स्थानीले मंगला गाउँपालिका–३, पखेर र वडानम्बर २ स्थित सिमलचौर पुछार जोड्ने सडक निर्माण तथा म्याग्दी नदिमाथि बेलीब्रिज बनाएर सडक सञ्चालन गर्न प्रस्ताव गर्नुभएको थियो ।