
प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको बैठक बहिष्कार गरेका छन् ।
केही दिनदेखि राप्रपाले बैठक बहिष्कार र रास्वपाले बेल घेराउ गर्दै आएकामा आज दुवै दलले बैठक बहिष्कार गरेका हुन् । बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाउनुभयो ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् ।
प्रतिनिधिसभाकाे बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने क्रम चलिरहेको छ । संसद्को चौथो र पाँचौं ठूलो दलको विरोध र बहिष्कारकै बीच सभामुख देवराज घिमिरेले बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभएको हो ।