म्याग्दीमा जारीे गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला खुल्ला पुरुष भलिबल प्रतियोगितामा म्याग्दी, बागलुङ, तनहुँ र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा म्याग्दीले नवलपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । बागलुङले मुस्ताङ जिल्लालाई ३–० को सोझो सेटमै पराजित गरेको हो ।

त्यसैगरी स्याङ्जाले कास्कीलाई ३–१ सेट जित्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने तनहुँले पर्वत जिल्लालाई ३–२ को सेटले पराजित गरेको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बताउनुभयो ।

त्यस्तै तनहुँले पर्वतलाई ३–२ सेटमा पराजित गरेको थियो । सेमिफाइनलको पहिलो खेल तनहुँ र स्याङ्जा र दोस्रो खेल म्याग्दी र बागलुङ बिच हुने छ । प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर गरी ८ जिल्लाको सहभागिता रहेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा जारी प्रतियोगितामा बिजेता टिमले नगद दुई लाख, उपविजेताले नगद १ लाख तथा तेस्रो हुने टिमले नगद ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही पाँचपाँच हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही तीनतीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
