धवलागिरी गाउँपालिकाको बजेट ४६ करोड ५६ लाख

म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२\०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँचसय ६३ रुपियाँको बजेट ल्याएको छ ।सोमबार गाउँपालिका केन्द्र मुनामा भएको २४ औं गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट सोमबार नै सभाबाट पारित समेत भएको छ ।

गाउँपालिकाले संघीय सरकारबाट राजश्व बाँडफाँड दश करोड २१ लाख उन्नाइस हजार पाँचसय ६३,वित्तिय समानीकरण अनुदान ९ करोड दश लाख रुपियाँ, सर्शत अनुदान १९ करोड ३२ लाख, सर्शत अनुदान पूँजीगत तर्फ ३३ लाख, विशेष अनुदान ६९ लाख र समपुरक अनुदान एक करोड ४० लाख रुपियाँ प्राप्त हुने बजेटमा अनुमान गरिएको छ ।

यसैगरी गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँड एक करोड १० लाख ३२ हजार,वित्तिय समानीकरण अनुदान ९३ लाख ५५ हजार,विशेष अनुदान ४० लाख,समपुरक अनुदान ६० लाख,सर्शत अनुदान दुई लाख,आन्तरिक आम्दानी ४५ लाख र सञ्चित कोषमा रहने अनुमानित दुईकरोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, आर्थिक विकास तर्फ कृषि,पशुपंक्षी,सहकारी र पर्यटन क्षेत्रको विकासका लागि ५२ लाख,शिक्षा र खेलकुदमा ३५ लाख,खानेपानीका लागि नेपाल स्वास्थ्यका लागि पानी कार्यक्रमसँग साझेदारी सहित ४५ लाख र सामाजिक विकास तर्फ २३ करोड २१ लाख ९० हजार प्रस्ताव गरिएको छ ।

यसैगरी पूर्वाधार तर्फ दश करोड ९५ लाख र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ विनियोजन गरिएको छ ।वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५२ लाख,संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन,कृषि,सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।एक वडा एक उत्पादन,उत्पादनमा युवा प्रोत्साहन कार्यक्रम,एक वडा एक पर्यटन परियोजना,दिर्घ रोगी सँग अध्यक्ष कार्यक्रम,सुनौला हजार दिनका आमा सँग उपाध्यक्ष कार्यक्रम,भाष कला र संस्कृति,पूर्वाधार विकास र वडा नम्बर १ गुर्जामा कस्तुरी पालनको सम्भाव्यता अध्ययनलाई अगाडी बढाइने नीति गाउँपालिकाले अगाडी सारेको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पालिकाको दुर्गम वडाका रुपमा रहेको गुर्जामा आगामी आर्थिक वर्ष भित्र सडक पु¥याउन संघीय समपुरक अनुदान र गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ बिनियोजन गरेको उपाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार ताकम मुना जोड्ने सडकलाई वैकल्पिक सडकका रुपमा विकास गर्न ताकम हिलापोखरी हुँदै मुना सडकलाई प्रदेश समपुरक योजना र गाउँपालिकाको तर्फबाट एक करोड बिनियोजन गरिएको छ ।

गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट छलफल पश्चात सर्वसम्मत रुपमा पारित भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो । पारित नीति तथा कार्यक्रम र बजेटलाई आगामी आर्थिक वर्षको सुरुवात देखि नै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।गाउँसभाले मध्यमकालिन बजेट खाका,लेखासमिति र कार्यपालिकाबाट भएका निर्णयहरु,चालु आवको आय व्यय बिवरण पारित गरेको छ ।

Previous articleअन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
Next articleमालिका गाउँपालिकाले ल्यायो ४६ करोड दुई लाखको बजेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here