पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५९ करोड ५४ लाख रुपियाँ बजेट ल्याएको छ । मङ्गलबार गाउँपालिका केन्द्र लामाखेतस्थित सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको उक्त बजेट र गाउँपालिका अध्यक्ष अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छ । यसैगरी, सभाले विनियोजन ऐन २०८२ र आर्थिक ऐन२०८२ समेत बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो ।
उपाध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको कुल विनियोजितमध्ये चालुतर्फ ३६ करोड ५६ लाख २२ हजार र पुँजीगततर्फ २२ करोड ९७ लाख ७८ हजार रुपियाँ रहेको छ । सङ्घीय र प्रदेश सरकारको समानीकरण अनुदान नौ करोड २० लाख, सङ्घीय सरकारको राजस्व बाँडफाँट सात करोड ९१ लाख ३९ हजार १४८, प्रदेश सरकार समानीकरण अनुदान एक करोड १६ लाख ७९ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँट ९२ लाख ४६ हजार, सङ्घीय सरकारको सशर्त अनुदान २६ करोड ५२ लाख, प्रदेश सरकारको सशर्त अनुदान दुई लाख, सङ्घीय सरकारको समपुरक अनुदान एक करोड ३३ लाख, सङ्घीय सरकारको विशेष अनुदान एक करोड ६५ लाख, प्रदेश सरकारको समपुरक अनुदान ६० लाख, प्रदेश सरकारको विशेष अनुदान ४० लाख जुटाइने जनाइएको छ । समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान परिचालन गर्दा नपुग हुने नौ करोड ८३ लाख ३६ हजार रुपियाँ आन्तरिक आम्दानीबाट व्यहोरिने उपाध्यक्ष आचार्यले बताउनुभयो ।
आगामी आर्थिक वर्षको क्षेत्रगत कार्यक्रमतर्फ कार्यालय सञ्चालन गर्न १० करोड, शखागत १० करोड २७ लाख, वडागत चार करोड ५० लाख, दायित्व/साझेदारी चार करोड २५ लाख गरी कुल २९ करोड दुई रहेको भने सशर्त, समपुरक र विशेष अनुदान कार्यक्रमतर्फ ३० करोड ५२ लाख रुपियाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चालुतर्फ ७२ दशमलव ६९ प्रतिशत र पुँजीगत तर्फ ५२ दशमलव ९९ प्रतिशत गरी औषत ६७ दशमलव ३७ प्रतिशत प्रगति भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, धार्मिक क्षेत्र, रोजगार, उद्यम, खेलकुद, आयआर्जन, विपद् व्यवस्थापन लगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । यसैगरी, गाउँपालिकाले प्रदेश र सङ्घीय सररकारसँगको साझेदारीमा सबै वडालाई समेटी कालीगण्डकीमा घाट निर्माण र शालिजामा ईनडोर हल निर्माण गर्ने गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।