रोजगारीको सिलसिलामा भारत गएका बेनी नगरपालिका–८ शिक्षामार्गका ४० बर्षिय रमेश जिसी विगत दुई महिनादेखि भारतको विहारबाट बेखबर भएपछि परिवारमा चिन्तामा डुबेको छ । गत बैशाख ४ गते रोजगारको शिलसिलामा रिबाहीब मजप्पपुर कम्पनीमा काम गर्न म्याग्दीबाट बिरजंग जानुभएका जिसी बैशाख ५ गते भारतीय सिमाबाट प्रवेश गरेको भन्दै आमा मिठु जिसीलाई फोन गरेपछि सम्पर्कविहिन भएको दिदी बिन्दु जिसीले बताउनुभयो ।
‘भाईले काम गर्ने कम्पनीले यहाँसम्म नआएको बताउने गरेको छ, खोजीकार्यका लागि भारतमा रहेका नेपालीलाई अनुरोध छ’ जिसीले बेनीअनलाइनलाई भन्नुभयो । भारतको विहार स्थित मजप्पपुर सिटी शिक्षामार्ग भगवानपुर भन्ने ठाउँमा तालिम लिएपछि सुपरभाइजरमा नाम निस्किएको भन्दै सम्पर्कमा आउन अनुरोध गरेपछि घरबाट निस्किनुभएका जिसीको मोवाइल अहिले बन्द भएकाले भारतमै भएको परिवारको अनुमान छ ।
बेपत्ता जिसीको साथमा १० हजार भारु थियो । बेपत्ता जिसीको खोजीका लागि परिवारले भारतमा रहेका म्याग्देली समक्ष याचना गरेको छ । जिसी परिवारले कसैले समस्यामा पारेको हुनसक्ने भन्दै सिमा क्षेत्रका प्रहरीको समेत सहयोग मागी अवस्था तत्काल पत्ता लगाईदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्।