धवलागिरि गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम सुरु

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा बुधवारदेखि मुनामा तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिकाभित्र विभिन्न वडामा रहेका एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालनको तालिम सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ । पाँच दिनसम्म चल्ने तालिममा गाउँपालिकाको सबै सातवटै वडाबाट २५ जना महिलाहरुको सहभागिता रहेको जनाइएको छ ।

तालिममा लैङ्गिक हिंसाको अवस्था र हिंसा न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, नेतृत्व विकास तथा व्यावसायिक उत्प्रेरणा, बाख्रापालनको महत्व र आवश्यकता, स्थानीय प्रजातिको बाख्रापालन तथा वातावरण अनुकुलित, बाख्राको खोर व्यवस्थापन र सरसफाइ, व्यावसायिक बाख्रापालनमा ध्यान दिनुपर्ने विषय, बजार व्यवस्थापन, नाफा र घाटा निकाल्ने विधि, लक्षित समूहले राज्यबाट पाउने अनुदानसहित सेवासुविधा, बाख्राको घुम्ती खोर व्यवस्थापन, घाँस तथा पोषणको महत्वका विषयमा सहजीकरण भैरहेको छ ।

यसैगरी तालिममा व्यवसाय दर्ता र नवीकरण, पोषिलो खाना, जोखिम न्यूनीकरण र विपद् व्यवस्थापन, व्यावसायिक योजना, पोषिलो खाना उत्पादन गर्ने तरिका, व्यवसायको निरन्तरता, समूह गठन र परिचालनलगायत विषयहरुमा पनि सहजीकरण भैरहेको आयोजकले जनाएको छ । उक्त तालिमको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, लेखा अधिकृत पुरुषोत्तम अधिकारी, पशु सेवा शाखाका प्रमुख एवं पशु सेवा प्राविधिक चन्द्रकला दाहाल र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले सहजीकरण गरिरहनुभएको छ ।

तालिमको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले समुदायमा पछाडि परेका महिलाहरुलाई छनोट गरी तालिम सञ्चालन गरिएको हुँदा तालिममा सक्रिय सहभागिता जनाउन सुझाव दिनुभयो । उहाँले गाउँपालिकामार्फत विभिन्न सिपमूलक तालिम र गोष्ठी सञ्चालन गरी महिलाहरुको व्यक्तित्व, नेतृत्व र क्षमता विकासमा आवश्यक पहल थालिएको बताउँदै व्यावसायिक बाख्रापालन तालिमले महिलाहरुलाई आत्मनिर्भर तथा स्वाबलम्बी बन्न सहयोग पुग्नेमा जोड दिनुभयो ।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले तालिममा सक्रिय सहभागिता जनाएर तालिमपश्चात् महिला दिदीबहिनीहरु प्रत्यक्ष रुपमा बाख्रापालन व्यवसायमा जोडिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रमवापत व्यवसाय सञ्चालन गर्नको लागि महिलाहरुले पाउने अनुदान रकमले अनिवार्य रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै गाउँपालिकाबाट सञ्चालित सिपमूलक व्यावसायिक बाख्रापालन तालिमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

तालिममा स्वागतसहित उद्देश्यमाथि प्रकाश पार्दै मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले महिलाहरुलाई सिपमूलक व्यावसायिक तालिम दिएर स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको सहयोग र समयन्वयमा मिलन म्याग्दीले तालिमको आयोजना गरेको जानकारी दिनुभयो । उहाँले यसअघि राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा मंगला गाउँपालिकामा पनि एकल महिला, अपाङ्गता भएका र विपन्न वर्गका महिलाहरुलाई समेटेर व्यावसायिक बाख्रापालन सम्बन्धी विषयमा तालिम सञ्चालन गरिसकिएको बताउनुभयो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आतिथ्य रहेको तालिमको उद्घाटनसत्र गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरको अध्यक्षता र मिलन म्याग्दीका कर्मचारी यामबहादुर विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । उद्घाटनसत्रमा धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, प्रशासकीय अधिकृत हरिहर पनेरु, लेखा अधिकृत पुरुषोत्तम अधिकारी, पशु सेवा प्राविधिक चन्द्रकला दाहाल, लेखापाल विनिता मल्ल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँको उपस्थिति रहेको थियो ।

Previous articleस्याङ्जाले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबल, म्याग्दी उपविजेता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here