महिलामा आत्मनिर्भरता बनाउन अल्लोको कपडा बुनाइ तालिम

Copy of Feature News - 1

स्थानीय स्रोत र सीपको प्रयोगमार्फत महिला सशक्तिकरणको लक्ष्यसहित म्याग्दीमा सञ्चालित अल्लो कपडा बुन्ने महिला हस्तकला तालिम सफलतापूर्वक सम्पन्न भएको छ। डिभिजन वन कार्यालय म्याग्दीको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यम विकास समितिको समन्वयमा सम्पन्न तालिम जेठ ४ गतेदेखि सञ्चालनमा आएको हो।

तालिममा म्याग्दीका विभिन्न सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध १० जना महिलाहरू सहभागी भएका थिए। उनीहरूले अल्लोको रेशा निकाल्ने, धागो बनाउने र त्यसलाई कपडामा रूपान्तरण गर्ने सम्पूर्ण प्रक्रिया व्यावहारिक रूपमा सिकेका थिए। प्रशिक्षक नेकसरा पुन र दिलमाया घतानेले तालिम सञ्चालन गर्नुभएको थियो।

तालिमको समापन कार्यक्रम असार  ११ गते आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समापन समारोहमा मन्तब्य ब्यक्त गर्दै  डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु प्रसाद अधिकारीले भन्नुभयो: “हाम्रा वनबाट प्राप्त हुने जैविक स्रोतहरूको जिम्मेवार प्रयोग गरेर समुदायमै रोजगारी सिर्जना गर्न सकिन्छ। यो तालिम त्यसको उत्कृष्ट उदाहरण हो। महिलाहरूले सिकेको यो सीप दीर्घकालीन रूपमा उपयोगी हुनेछ।”

त्यस्तै, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठले स्थानिय स्रोतमा आधारित उद्यम नै दिगो आर्थिक विकासको आधार हो। तालिमपछि उत्पादनलाई बजारीकरण गर्न संघले आवश्यक परामर्श र सहयोग गर्न तयार छ। महिलाहरू अब स्वरोजगारको बाटोमा लाग्ने विश्वास रहेको बताउनुभयो छ।”

कार्यक्रममा महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठको संचालन र  अम्बिका श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। प्रशिक्षार्थी तर्फबाट टकसरा रानाले अनुभव सुनाउँदै तालिमले आत्मविश्वास बढाएको बताउनुभयो ।

कार्यक्रममा सहभागी सबै महिलाहरूलाई सीप आर्जनको प्रमाणपत्र वितरण गरिएको थियो। प्रशिक्षक, आयोजक र सरोकारवाला सबैले तालिमपछिको उत्पादनलाई बजारसम्म पुर्‍याउने, गुणस्तर सुधार गर्ने र सामूहिक ब्रान्डमार्फत विकास गर्ने आवश्यकतामा जोड दिएका छन् ।

सहभागी महिलाहरूले अब आफूहरूले सिकेको सीप प्रयोग गरी घरमै बसेर उत्पादन गर्न सकिने, र उत्पादन विक्री गरी आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्। यो तालिम महिलाहरूमा सिर्जनात्मकता, उद्यमशीलता र आत्मनिर्भरताको भावना विकास गर्ने महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरिएको लिइएको छ।

Previous articleधवलागिरि गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here