खाद्य सुरक्षाका लागि धानको उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य

सरकारले यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । खाद्य सुरक्षाका लागि धानको उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको हो ।

कृषि विभागले २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा यही असार १५ गते आउँदो आइतवार जलवायु अनुकूलित प्रविधिको अनुसन्धान तथा धानको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम गर्दैछ ।

विभागले खुमलटारमा रोपाइँ, किसानलाई सम्मान, रैथाने बालीको संरक्षण, प्रविधिको प्रचारप्रसार, जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि विज्ञसँग अन्तरक्रिया कार्यक्रमको तयारी गरेको हो ।

विभागका महानिर्देशक प्रकाश सञ्जेलले किसान र अन्य सम्बद्ध पक्षलाई धान उत्पादन एवम् उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउने योजना रहेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएकामा आव २०८१/८२ मा धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएकामा आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो ।

धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कुल उत्पादन बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । रासायनिक मल, उन्नत जातको बीउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको हाे ।

Previous articleगण्डकी प्रदेशसभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here