म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन

 पाखो बारीको भित्तामा ससाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिँगालका गोला छन् । 

म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिँगाल पालन गर्नुहुन्छ । शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिँगाल पाल्न थालेको जानकारी दिनुभयो । राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उहाँसँगै श्रीमती गीताले अरिँगाल पालन गर्नुभएको हो । 

“नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गतवर्ष जङ्गलबाट घरमा ल्याएर गरेको अरिँगाल पालन सफल भएको छ”, गीताले भन्नुभयो, “मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिँगाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ ।” 

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहनुभएकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएका श्रीमान् अशोकले साथ दिनुभएको छ । 

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिँगालको लार्भा निकाल्न सकिने शाहीले जानकारी दिनुभयो । “जङ्गलमा अरिँगालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ”, अशोकले भन्नुभयो, “अरिँगालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच (सेफ्टी बेल्ट) प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिँगालको गोला ल्याएर पाल्ने गरेका छौँ ।”

जङ्गलबाट ल्याइएको अरिँगाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतीको अनुभव छ । “बेनीका होटलमा अरिँगालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन् । काँचो लार्भा प्रतिकिलो रु. तीन हजार ५०० का दरले बिक्री हुने गरेको छ”, शाहीले भन्नुभयो । 

गतवर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताउनुभयो । “एउटा गोलाबाट एकपटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई÷दुई महिनामा लार्भा निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो । 

पालेका अरिँगाल चरनका लागि जङ्गल र खेतबारीमा जान्छन् । किरा, फट्याङ्जा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिँगालका आहारा हुन् । झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताउनुभयो । 

शक्तिवर्द्धक मानिने अरिँगालको भुटेको लार्भा प्रतिरिकापी रु ६०० का दरले बिक्री हुने बेनीका होटल व्यवसायी राजन लामाले बताउनुभयो । अरिँगाल बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उहाँको अनुभव छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिँगालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन् । 

“अरिँगाल पाल्न सजिलो काम भने होइन । गोला जङ्गलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ । अरिँगाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ”, अशोकले भन्नुभयो, “बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ ।” उहाँका अनुसार रातो र कालो जातका अरिँगाल बढी पाइन्छन् । 

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिँगाल पालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताउनुभयो । “लार्भाका लागि गोला पोलेर अरिँगालको वंश नै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ”, उहाँले भन्नुभयो, “जोखिम भएकाले अरिँगाल पालनमा सावधानी भने अपनाउन आवश्यक छ ।” रासस

Previous articleखाद्य सुरक्षाका लागि धानको उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here