म्याग्दीमा विपद्को समयमा हुने जोखिमको सामना गर्न तयारी चुस्त पारीएको यहाँ आयोजित कार्यक्रममा बताइएको छ ।
गृह मन्त्रालय, विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाको आयोजनामा सञ्चालित जोखिम न्यूनीकरण रणनीतिक राष्ट्रिय कार्ययोजना (२०१८–२०३०) को कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने स्थानीय तह तथा सुरक्षा निकायका प्रतिनिधिले उक्त धारणा राखेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले म्याग्दीमा हुन सक्ने विपद्का घटना पछि तत्कालन राहत तथा उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु मौजदात रहेको बताउनु भयो । उहाँले विगत वि.स. २०७७ देखि रकम प्राप्त नगरेका विपद् पिडीत लाभग्राहीको पैसा समेत प्रशासनमा आइ सकेको र अब तुरुन्तै सम्बन्धीतको खातामा पठाइने बताउनु भयो ।
केही कागजात नपुगेकोले रोकिएको होला नत्र अब एकदुई दिनमै पिडीतहरुको खाताम पैसा पुग्छ । म्याग्दी जिल्लामा एक सय ५८ जना लाभग्राहीले राज्यले तोकेको राहत रकम नपाएको अवस्था थियो ।
कार्यक्रममा विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाकी रञ्जना राईले निरन्तर दोहेरी रहने प्राकृतिक प्रकोप बाढी, पहिरो, भूकम्प लगायतको उच्च जोखिम क्षेत्रमा नेपाल रहेको बताउनु भएको थियो । उहाँले नेपाल भूकम्पिय जोखिमका हिसाबले विश्वको ११ औं, जलउत्पन्न प्रकोपको जोखिममा विश्वको ३० औ तथा जलवायु परिवर्तनको प्रभावको हिसाबले विश्वको चौथो स्थानमा नेपाल रहेको जानकारी दिनुभएको थियो ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले म्याग्दी मनसुनी विपद्को जोखिम क्षेत्र भएकोले सबैले सचेत भएर चनाखो रहनु पर्ने बताउनुभएका थियो । उहाँले सबै स्थानीयतह तथा सुरक्षा निकाय पनि चनाखो अवस्थामा रहेको भए पनि अब विपद्का घटनाहरु बढ्ने समय भएको हुनाले सबै सचेत र चनाखो भएर अगाडी बढ्नु पर्ने उहाँको तर्क थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विपद्का लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन तथा आवश्यक जनशक्ति पनि नगर सँग भएको बताउनुभयो । उहाँले नगर प्रहरीका साथै जनप्रतिनिधिहरु पनि आवश्यक पर्ने ठाउँमा स्वयंम पुगेरै खट्न सक्ने समेत धारणा राख्नु भएको थियो । कार्यक्रममा स्थानीयतहले आफ्नो पालिकाको वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुका साथै आफ्नो पालिकामा रहेको जोखिम न्यूनीकरणका उपायहरु समेत सुझाएका थिए ।