बेनी नगरपालिका–८, कालिपुलबाट नक्कली मह र १ लाखभन्दा बढी नगदसहित प्रहरीले एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न किसिमका केमिकल प्रयोग गरेर नक्कली मह बनाउने र बेचबिखन गर्ने गरेको भेटिएपछि स्थानीयको सहयोगमा भातरको बिहार राज्य सपैलाका ३५ बर्षिय रुपचंद धामीलाई १७ केजी ५५ ग्राम कच्चा पदार्थ, नगद १ लाख ४ हजार सहित पक्राउ गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पौडेलले बताउनुभयो।

नक्कली मह बनाउन आवश्यक कच्चा पदार्थ र बिक्री गरेको नगद सहित पक्राउ परेका धामीलाई जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको सूचना अधिकारी पौडेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो । मह बनाउन अखाद्य वस्तु मिसाएर नक्कली मह उत्पादन गर्ने र बजारमा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
नेपालमा मह बिक्री गर्ने भारतीय गिरोह नै सक्रिय छ । सहरबजारमा मौरीको चाका सहित चिनी, फिटकिरी, युरिया लगायतका अखाद्य बस्तुको प्रयोग गरी मह बनाएर सस्तोमा बिक्री गर्ने गरिन्छ । रसायनिक पदार्थको प्रयोग हुने भएकाले मह बनाएर चखाएर बिक्री गर्ने गरिन्छ । स्थानीय महको तुलनामा आधा सस्तो हुने भएकाले बजार क्षेत्रमा विभिन्न ब्रान्डको नाम दिएर बिक्री गरिन्छ ।