* आयआर्जनका लागि सानो रकम ठूलो सन्देश
* दिर्घरोगीलाई उपचारमा वरदान.
* बीउपुँजी स्वरूप २७ हजारले फेरिएको
* ३ सय ४० महिलालाई ९२ लाख सहयोग
हरिकृष्ण गौतम
मधुमेह र उच्चरक्तचापको रोगका कारण थलापरेकी म्याग्दीको बेनी नगरपालिका–१ सालघारीकी ६१ बर्षिया शान्ति सार्कीले घरआगनमै १३ हजार ५ सय पाएपछि अब नियमित उपचार र औषधि सेवनका लागि सजिलो भएको भन्दै खुसीले फुरुङ् भइन् । आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएकी सार्कीले नगरपालिकाबाट प्राप्त आर्थिक सहयोगले नियमित उपचार गरिरहेकी छन् ।
पहिले उपचारमा घरपरिवारका सदस्यहरुबाट सहयोग लिएर अस्पतालसम्म पुग्ने सार्की अहिले स्वास्थ्य विमा बाहेक नगरपालिकाको सहयोगले उपचारमा निकै सजिलो भएको छ । उनले उपचारबाट बचत भएको आर्थिकलाई घरायसी सामान खरिद समेत गर्ने गरेको बताइन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग, संगम म्याग्दीको प्राविधिक सहयोगमा बेनी नगरपालिकामार्फत १० वटै वडामा सञ्चालित सम्बोधन परियोजनाबाट अति विपन्न महिलालाई वितरण गरिएको आर्थिक सहयोगले अर्जम पुरन्जीमा लडेर टाउकोको नशा च्यापिएर ओछ्यानमै थलिएकी २८ बर्षिया सोबिता परियारलाई समेत निकै राहत मिल्यो ।
बेनपा–२, गौस्वराकी दृष्टिविहिन ६४ बर्षिया पार्वती विश्वकर्मा, ८७ बर्षिया दिलकुमारी सापकोटा सहित नगरपालिका भित्रका ३ सय ४० महिलालाई बिना सर्त गरिने नगद सहयोगले धेरै राहत मिलेको छ । केही महिलाले अािर्थक सहयोगबाटै घरायसी खर्चसँगै आयर्आजनका क्षेत्रमा समेत खर्च गरेका छन् ।
ज्यामरुककोटकी गौस्वराकी दृष्टिविहिन पार्वतीले आर्थिक सहयोगबाट बचत गरी बाख्रापालन गरेको बताइन् । ‘महिले बचत गरी एउटा बाख्रा किनेको थिए, अहिले गोठमा ५ वटा छन्, यही सहयोगबाट मलाई आयआर्जनमा सजिलो भयो’ पार्वतीले भनिन् ।
उनले घरखर्च चलाउन केही राहत भएको बताउँदै आर्थिक सहयोगका लागि वडामार्फत नगरपालिकाले छनौट गरेकोमा धन्यवाद समेत दिइन् । आर्थिक तथा सामाजिक रुपमा विपन्न,पूर्णरुपमा अपाङ्ता भएका, एकल महिलाहरूलाई जीविकोपार्जन र औाषधि उपचारमा सहयोग गर्ने सम्बोधन परियोजना संचालन भएपछि विपन्न तथा एकल महिलाहरू लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।
यो परियोजना २०८१ साल साउन महिनादेखि विपन्न महिलालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सम्बोधन परियोजनामार्फत आयआर्जनमूलक क्रियाकलाप गर्न बीउपुँजी स्वरूप २७ हजारका दरले १० वटै वडामा संचालन भएको थियो ।

सगंम म्याग्दी र राष्ट्रिय बाणिज्य बैकको सहकार्यमा संचालन भएको यो परियोजनाले आर्थिक अभावमा उपचारबाट बन्चित भएका तथा जीविकोपार्जनको खोजीमा रहेका महिलालाई ठूलो राहत मिलेको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताए । उनले नगरपालिकाले वडाका जनप्रतिनिधिहरुमार्फत संकलन गरेको विवरणमा सबै अति विपन्न रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताए ।

उनले आर्थिक अभाव झेलिरहेकालाई सहयोगसँग आयआर्जनका लागि उपाय सिकाउने निकै राम्रो माध्यमको रुपमा समेत स्थापित भएको बताए ।यस परियोजनाले विपन्न महिलाहरुको राष्ट्रिय बाणिज्य बैकमा समृद्धि बचत खाता खोलेर दुई किस्तामा २७ हजार आर्थिक सहयोग बैंकका प्रतिनिधिले घरदैलोमै पुगेर हस्तान्तरण गरेका थिए ।

वडास्तरमै पुगेर छनौट गरेका आर्थिक तथा सामाजिक रुपमा विपन्न, संकटापन्न तथा सामाजिक सुरक्षाको आवश्यकता पर्नेलाई नै छनौट गरिएको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए । रु एक करोड, दुई लाख कुल बजेट रहेको यस परियोजनाले लाभग्राहीलाई रु ९२ लाख नगदै वितरण गर्ने जनाएको छ ।

यसमा राष्ट्रिय बाणिज्य बैकले प्रत्येकको घरमै पुगेर खाता खोल्ने, बैंकसम्म आउन नसक्नेलाई घरमै नगद पु¥याउने तथा प्रत्येक खातावालालाई रु एकसय नगद जम्मा समेत गरिदिने थियो । सोही अवसरमा बैंकले अति विपन्नहरुमध्ये नियमित उपचारमा जाने १० जनाको स्वास्थ्य विमा समेत गरेको थियो । नेपालका नौ जिल्लाका १६ स्थानिय तहहरूमा सञ्चालित परियोजना गण्डकी प्रदेशमा दोस्रो चरणको कार्यक्रम म्याग्दी जिल्लामा मात्रै संचालन भएको थियो । हालसम्म यस परियोजनामा सहभागि ६० प्रतिशत महिला बाख्रापालन सहित विभिन्न आयआर्जनमा समेत संलग्न छन् ।
सहयोगलाई बचत गरी बाख्रा पालन
हाम्रो समाजमा सामान्यतः दुवै आँखा नदेख्नेलाई आफ्नो दैनिकी र खाने÷लाउने काममा अर्काको सहारा चाहिन्छ । तर, बेनी नगरपालिका वडा नं २ काउनेखर्कका मिनबहादुर र पार्वती विश्वकर्माले सम्बोधन परियोजनाबाट बाख्रा पालेर परिवारको पालनपोषण गरिरहेका छन् । आँखाको ज्योति गुमेपछि आफन्तको घरमा बस्दै आएका दृष्टिविहिन दम्पत्तीले परियोजनाबाट पाएको आर्थिकले एउटा बाख्राबाट सुरु गरी अहिले बिक्री गरी घरखर्च चलाउने गरेका छन् ।

आर्थिक रूपमा विपन्न भएकाले छनौटमा परेपछि खर्च जोगाएर बाख्रा किनेको मिनबहादुरले बताए । ‘घरखर्च चलेकै छ, हामीलाई निकै सजिलो भएको छ, सहयोगलाई बचत गरेकाले बाख्रापालनमा रमाउने वातावरण बनायो’भने । उनले बाख्रालाई घाँस पानी खुवाउन सकिने भएकाले दृष्टिविहिनले पनि बाख्रा पालन गर्न सक्नछन् भनेर देखाउन सफल भएको बताए ।
उनले खोर ब्यवस्थापन तथा केही सहयोग भए सहज हुने बताए । दृष्टिविहीन भएकाले आँखा देख्नेको सहारामा हिढ्नुपर्ने भएपनि आयआर्जनका लागि मात्रै सहयोग भए आफै गर्ने सकिने बताए । दृष्टिविहीनले गरेको काम वास्ता नगरेकालाई यो सन्देश सुनाउन समेत मिनबहादुरले अनुरोध गरे । उनले नियमित उपचार तथा अन्य विविध समस्या समाधानका लागि राज्यका निकायबाट सहयोग आवश्यकता भएपनि बाख्रा पालनले भोकै बस्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
छनौटमा परेकामध्ये आयआर्जन गर्ने धेरै छन
अर्जुन शर्मा/प्रमुख प्रशासकीय अधिकृत, बेनी नगरपालिका
कोरोना भाइरसको चपेटामा परेका अति विपन्न महिलालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो । कोरोना भाइरस नियन्त्रण र रोकथामपछि आर्थिक तथा सामाजिक रुपमा विपन्न,पूर्णरुपमा अपाङ्ता भएका, एकल महिलाहरूलाई जीविकोपार्जन र औाषधि उपचारमा सहयोग गर्ने सम्बोधन परियोजनामा छनौट भएकालाई संगम म्याग्दीमार्फत लागु भएको थियो । अहिले सहयोग पाएकाहरुले उपचार बाहेक पनि आयआर्जन गरिरहेका धेरै गाउँघरमा देखिन्छ ।

दैनिक रोजगारी गरेर जीवन निर्वाह गर्ने, निम्न र विपन्न वर्ग सबैभन्दा पीडित भएकालाई बरदान सावित भएको यो मोडेलको सहयोग आगामी दिनमा पनि गर्नुपर्ने राय जनप्रतिनिधिको पनि छ । सहयोगको सदुपयोग भएको छ । आर्थिकसँगै मानसिक पाटोले पनि यो परियोजनाले सहयोग गरेको थियो। परियोजनाबाटै नागरिकता नभएर सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएकाहरु समेत भेटिएकालाई नागरिताको प्रक्रिया समेत अगाडी बढाइएको थियो । हामीले छोटो समयमा गरेको सहयोगबाट लाभान्वितहरुलाई अन्य सहयोगले समेत जोड्ने छौ ।