* नगरबासीलाई हरेक प्रकारमा सुविधा दिन सजिलो
* घर नम्बरले मान्छेले जस्तै बाटो देखाउँछ
* डिजिटल प्रणालीबाटै हेरेर नगरबासीलाई सेवा !
* दश किसिमका व्यक्तिगत सूचनालाई गोप्य राखिएको छ।
* डिजिटल सूचना प्रणालीबाट अति विपन्नको पहिचान गरी तीन सय ४० जनालाई ९२ लाख नगदै वितरण
हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली प्रयोग गरिरहेका सेवाग्राहीले एउटै प्रकृतिको अनुदान लगेको भेटिएपछि मेयर सुरत केसीले सचेत बनाए । आफ्नै कार्यकक्षमा घर नम्बर सहित विवरण देखाएपछि दंग परेर फर्किए । नगर प्रमुख केसीले आफ्नो कार्यकक्षमा आउने सेवाग्राहीलाई घरमा डिजिटल घर नम्बर भए वा नभएको जिज्ञासा राख्ने र विशेषताका बारेमा जानकारी गराउने गरेका छन् । सेवाग्राही, वडास्तरमा अनुगमन तथा विभिन्न माध्यमबाट घर नम्बर राख्न छुट भएकाको विवरण संकलन गर्दा अहिलेसम्म २ सय घरधुरी छुटेको भेटिएको छ ।
युएनडिपी नेपाल र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संगम म्याग्दीको ब्यवस्थापनमा नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरेसँगै सेवाप्रवाह सहज भएको छ । नगरभित्रका १० वटै वडामा डिजिटल घर नम्बरिङले नगरबाट प्रदान गरिने हरेक प्रकारका सेवाहरू तथा समस्यामा परेका नगरबासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने गरिएको नगर प्रमुख सुरत केसीले बताए ।

‘अहिले वडाका हरेक सिफारिसमा घर नम्बर अनिवार्य गरिएको छ, अनुदान दुरुपयोग रोकिएको छ, सेवाग्राहीले सहज सेवा पाउनुभएको छ’ मेयर केसीले भने ।उनका अनुसार डजिटल घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा छ, उक्त घर केबाट बनेको लगायतका करिब एक सय किसिमका जानकारी राखिएको छ ।

‘सुरक्षाका हिसाबले गोप्य सूचनामा सम्बन्धित घरधनीबाहेक अरुको पहुँच नहुने व्यवस्था मिलाइएको छ, अहिले वडाबाटै यहाँ विवरण थप हुन्छ’ मेयर केसीले भने । नगरपालिकाले यही विवरणबाट खरले छाएको घर विस्थापित गरी जस्तापाता विस्थापित गरी प्रत्येक वडामा ९ लाख बजेट विनियोजन गरेको छ । सिँचाई, खानेपानी, शौचालय बनाउन समेत विवरण अनुसार सहयोग गर्ने गरेको छ ।
नगरभित्रका सबै घरधुरीमा डिजिटल घर नम्बर प्रणाली जडान गरेपछि घरपरिवारको परिचय, घटना दुर्घटना तथा विपत्तको सूचनाका साथै तत्काल सहयोगका लागि समेत सहज प्रमुख प्रशासकीय अधिकृत अर्जन शर्माले बताए । उनले सबै नगरवासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाएको र घरधनीले आफ्नो विवरण आफै अद्यावधिक गर्नसक्ने बताए ।
यस प्रणालीबाट नगरपालिकाले घरदैलोमा पु्गेर तयार गरेको विवरणमा ब्यक्तिगत विवरणसहित शैक्षिक योग्यता,आर्थिक अवस्था कमजोर भएका, अपाङ्ता, खानेपानी, स्वास्थ्य, शौचालय, घरधुरीबाट स्वास्थ्य संस्था, शैक्षिक तथा अन्य सेवा लिन सकिने संघसंस्थासम्म पुग्ने दुरी समेत हेर्न सकिन्छ । नगरपालिकाबाट सेवा लिनेहरुको विवरण समेत घर नम्बरमै अपडेट हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाई छ ।

नगरपालिकामा कुल घर संख्या ७ हजार ४३९ रहेको छ । कुल जनसंख्या २९ हजार ४ सय ४४ रहेको र यौनिक अल्पसंख्य ४ जना छन् । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले होटल तथा ब्यक्तिगत घरमा पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन तथा अन्य ब्यवसायीलाई ग्राहकसँग कनेक्सन गर्न समेत डिजिटल घर नम्बर प्रणालीले सहज भएको बताए । नगरपालिकाले विभिन्न संघसंस्था तथा निकायहरूबाट वितरण हुने विभिन्न सहयोगलाई समेत डिजिटल घर नम्बर प्रणालीमा रहेका अति विपन्न र लक्षित समुदायको विवरणका आधारमा सिफारिस गर्ने गरेको छ ।
युएनडिपीले कोड फ्युजन कम्पनीमार्फत विकास गरेको सफ्टवयरको अवधारणा, डिजाइन र विवरण राख्ने काम गरिएकोमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सचिव र विषयगत शाखाका कर्मचारीको पहुँच हुने प्रणालीको विवरण अद्यावधिक गर्ने अधिकार छ ।
यो डिजिटल ठेगाना हो ?
यसले नगरपालिकाले ब्यक्तिगत घरमा टाँस गरेको घर नम्बरलाई डिजिटल ठेगाना समेत भन्न सकिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गरी अर्कामा पु¥याउन एकदमै उपयोगी छ । यो प्रणाली प्रयोग गरेर बेनी नगरले नगरबासीलाई सजिलै सम्पर्क गर्न सक्छ । नगरबासीलाई सेवा, सूचना दिन तथा सेवा लिएबापत भुक्तानीका लागि यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्छन् । यसको माध्यमबाट नगरबासीको अवस्था पहिचान गर्न सकिन्छ ।

पालिकाले दैनिक गर्नुपर्ने कामहरु फोहर व्यवस्थापन, सामाजिक सुरक्षा, अनुगमन, सूचना तथा जानकारी लगायतमा डिजिटल ठेगाना प्रणालीलाई प्रत्यक्ष प्रयोग गर्ने गरिएको छ । ठेगाना प्लेटमा रहेको क्युआर कोड स्क्यान गरी सामाजिक सुरक्षाका भत्ता लगायत नगरपालिकाबाट सेवाहरु लिन सकिने विवरण पाइन्छ । घर नम्बर जडानका साथै माथि उल्लेखितलगायत अन्य काममा समेत यो प्रणालीको बहुउपयोगी प्रयोग गर्न सकिन्छ ।
डिजिटल घर नम्बर प्लेट बनाउन कति खर्च लाग्छ ?
नगरपालिकाले यो सुविधा नगरबासीलाई निशुल्क दिएको छ । बार्षिक बजेट तथा आर्थिक सहायताबाट सुरुवात गरिएको यो सेवामार्फत नयाँ घरमा नगरपालिकाले नै जडान गर्छ भने बिग्रिए वा पुरानो घर मर्मत गर्दा निकालेर नयाँ घरमा समेत प्रयोग गर्न सकिन्छ । नगरपालिकाले नै ठेगाना प्लेटलाई छपाउछ। छपाउँदा प्लेट र प्रिन्टको गुणस्तर अनुसार लाग्ने मूल्य तिर्ने गरेको छ । हालसम्म यो प्रविधिका लागि नगरपालिकामार्फत ३० लाख खर्च भएको छ ।
नगरपालिकाले वितरण गरेको प्लेट निकाल्न परेमा वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिन्छ तर नटाँसीकन राख्न पाइदैन । डिजिटल घर नम्बर प्लेट बनाई एक अर्कामा सेयर गर्न, नगरपालिकाबाट लिने परिचयपत्र, बैंक तथा अन्य निकायका केवाइसी फारममा घर नम्बर राख्न सकिन्छ ।