बेनी नगरपालिका–८,कालिपुलस्थित बालमन्दिर माविले स्थापनाको ५४ औं बर्षमा पहिलोपटक एसईई परीक्षामा सहभागी भएकोमा सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । बि.स २०२८ सालमा स्थापनाको विद्यालयबाट पहिलोपटक एसईईमा परीक्षामा १० जना विद्यार्थी नै उत्र्तिणा भएपछि उत्कृष्ट नतिजाका लागि योगदान पु¥याउने शिक्षकहरूलाई अभिभावकले विद्यालयमै पुगेर सम्मान गरे ।
दैनिक ज्यालामजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने अभिभावकहरू नतिजाका बारेमा जानकारी पाउँदा वित्तिकै विद्यालयमा पुगेर प्रधानाध्यापक सुरेन्द्र प्रसाद केसी र शिक्षकलाई भेटेर बधाई दिए । चरम गरिबीका कारण विद्यालयका शिक्षक, आन्तरिक आम्दानीबाट समेत आवासीय, शैक्षिक साम्रागी सहयोगबाट परीक्षामा सहभागि भएका विद्यार्थीले नतिजा सुनाउँदा खुसीको आँसु थाम्न सकेनन् ।
एसईई परीक्षामा सहभागि १० जना विद्यार्थीमध्ये दुई जनाका अभिभावक बैदेशिक रोजगारीमा विदेशमा बाहेक अनेक अभावसँग पौँठेजोरी खेल्नुपर्ने बाध्यताका बिच नतिजा उत्कृष्ट आएको प्रअ केसीले बताए ।
‘पहिलो प्रयासमा मिलेको सफलताबाट हामीलाई उर्जा थपिएको छ, यो नतिजामा शिक्षकको मेहनत शब्दमा बयान गर्न सकिदैन’ प्रअ केसीले भने । सिमित स्रोतसाधनका बिच आवासीय सुविधा, शिक्षकको खाजा खर्च कटाएर समेत अति समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्ने गरिएको प्रअ केसीले बताए । ‘यो सफलता विद्यार्थी, शिक्षक र व्यवस्थापन टोलीको अथक मेहनतको परिणाम हो’ केसीले भने ।
उनले शैक्षिक केन्द्रित सहयोग तथा प्रोत्साहनक कार्यक्रमहरुलाई निरन्तरता दिदैं आगामी दिनमा पनि यस्तै उत्कृष्टता कायम राख्न प्रतिबद्ध रहेको बताए । दुखः कष्ट र पीडासँगै दैनिक मजदुरीमा बगाएको पसिनालाई सम्झिएर सन्तानले प्राप्त गरेको सफलतामा शिक्षकलाई धन्यवाद दिन आएका अभिभावको प्रतिक्रियाबाट आगामी नतिजालाई झनै उत्कृष्ट बनाउने बल मिलेको बताए ।

विद्यालयमा मावि तहमा अनुभवी शिक्षक तथा नियमित अतिरिक्त कक्षा, क्षमता अनुसारको सिकाई क्रियाकलाप संञ्चालन, अभिभावक भेला, नियमित कक्षागत परीक्षा, नगरपालिका, वडाका जनप्रतिनिधिका साथै पूर्व विद्यार्थीको शैक्षिक गतिविधि केन्द्रित सहयोग, बिद्यार्थीहरुलाई मनोबैज्ञानिक रुपमा आत्मबल प्रदान गर्ने गतिविधि सञ्चालनले समेत नतिजालाई सघाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माले बताए ।

उनले यो नतिजाले विद्यालयको शैक्षिक गुणस्तर, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको मेहनतलाई उजागर गरेको बताए। बालमन्दिरमा बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत अधिकांस विद्यार्थीको आर्थिक अवस्था कमजोरका कारण पढाइ छोड्न थालेपछि विद्यालयले विभिन्न निकायबाट सहयोग जुटाएर विद्यार्थीलाई उपलब्ध गराउने गरेको छ ।