उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेशियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहेको मलेशिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गर्नुभएको हो ।
उहाँले निजी क्षेत्रलाई लगानीका लागि नेपालमा उपयुक्त वातावरण रहेको र नीतिहरू लगानीमैत्री रहेको बताउनुभयो । लगानीका लागि सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार रहेको अर्थमन्त्री पौडेलको भनाइ थियो ।
प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए ।
भेटपछि परिषद्का अध्यक्ष कुकरेजाले नेपालमा बेरोगारी दर उच्च रहेको बताउँदै सम्भावना धेरै भएकाले लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो ।