---Advertisement---

स्तरउन्नतिको पर्खाइमा बेनी-भकुण्डे सडक

On: July 4, 2025 8:32 PM
Follow Us:

ट्याक खुलेको १८ वर्ष वितिसक्दा पनि म्याग्दीको एक सडक बजेटको अभावमा स्तरोन्नति हुन नसक्दा गाडी गुड्न सकेका छैनन् ।

सदरमुकाम बेनीबजारदेखि पर्यटकीय स्थल लभ्लीहिल हुँदै बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको वडा कार्यालय भकुण्डे जोड्ने सडक बजेटको अभावमा स्तरोन्नति हुन नसक्दा जीर्ण बन्दै गएको छ ।

विसं २०६५ मा ‘ट्याक’खोलेर बेनी नगरपालिका २ को लभ्लीहिल–पिपलडाँडा–खबरा–भकुण्डे–तमाने–गौश्वारा हुँदै बागलुङको प्रशिद्ध धार्मिक स्थल पञ्चकोट हुँदै बागलुङसम्म पुग्न सकिने उक्त सडकको बेनी–लभ्लीहिल–भकुण्डे खण्डमा ट्याक्टर र मोटरसाइकल बाहेक अन्य सवारी साधनहरु ओहोरदोहोर गर्न सक्दैनन् ।

बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले संघबाट अहिलेसम्म कत्ति पनि बजेट नपरेको र प्रदेश तथा स्थानीय सरकारको थोरै बजेटका कारण सडक स्तरोन्नति तथा सुधारको काम हुन नसकेको बताउनुभयो ।

“गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट प्राप्त एक करोड बजेटबाट अहिलेसम्म हाँडेभीर–पिपलडाँडा,ठूलो खबरा र दारिमबोट खण्डमा ग्याविन जाली लगाउने,नाली बनाउने,ढलान गर्ने काम भइरहेको छ”अध्यक्ष कार्कीले भन्नुभयो “ज्यामरुककोट क्षेत्रका लागि अत्यन्त महत्व राख्ने यो सडक स्तरोन्नति तथा सुधारका लागि संघीय सरकारले चासो नदिँदा अपार पर्यटकीय सम्भावना,ऐतिहासिक तथा धार्मिक महत्वको ज्यामरुककोट क्षेत्र ओझेलमा परेको छ ।”

“बेनीदेखि भकुण्डेसम्मको सात किलोमिटर सडकको अवस्था अत्यन्त दयनीय छ । नगरपालिकाको गेटैबाट सुरु भएर वडा कार्यालयको गेटसम्म पुग्ने उक्त सडक स्तरोन्नतिका लागि कतैबाट पनि पहल नहुनु दुर्भाग्य हो” स्थानीय प्रविण सापकोटाले बताउनुभयो ।

सवारीसाधन सञ्चालन हुने गरी सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ । सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी–रत्नेचौर–भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य भएका वडा सदस्य चन्द्रकान्त रिजालले बताउनुभयो ।

समय समयमा सामान्य रुपमा सडक मर्मतको काम हुने भए पनि अझैसम्म यातायातका साधन सञ्चालन हुन सक्नेगरी मर्मत हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ ।

Leave a Comment