---Advertisement---

विदेशबाट फर्किएर कृषि कर्म : तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

By डम्मर बुढा मगर/बागलुङ
On: July 4, 2025 8:37 PM
Follow Us:

बुर्तिबाङ बजासँगै जोडिएको छ भब्रेटा गाउँ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फर्म देखिन्छ । फर्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा । फर्म छेउमै रहेको बारीमा भेटिनुहुन्छ चन्द्रलाल पाण्डे । बारीको घाँस काट्ने, तकारीमा पानी लगाउने र भैँसी दुहुने चन्द्रलालको दैनिकीनै हो । आकस्मिक कामबाहेक पाण्डे फर्म छोडेर कतै जानुहुन्छ । जानका लागि उहाँलाई फुर्सद पनि हुँदैन ।

२० वर्ष अगाडि कतारमा पुग्नु भएका चन्द्रलालले पाँच वर्ष उहीँ बिताउनुभयो । परदेशी भूमि, दुःखको काम त्यसमाथि साहुको गालीबोली जसले गर्दा पाण्डेलाई विदेश बस्नै मन भए । पाँच वर्ष बिताएपछि उहाँ स्वदेश फर्किनुभयो । गाउँ फर्किएपछि उहाँले वि.सं. २०६७ सालदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्न थाल्नु भयो । विस्तारै भैँसीसमेत पालेर दूध विक्री गर्न थाल्नुभयो । अहिले चन्द्रलालले तरकारी र दूध विक्री गरेरै राम्रो आम्दानी गर्दै आउनु भएको छ ।

उहाँले २४ रोपनी क्षेत्रमा तरकारी खेती गर्नु भएको छ भने पाँच वटा भैँसी पालेर दैनिक ३० लिटर दूध विक्री गर्दै आउनु भएको छ । बुर्तिबाङ बजार नजिकै रहेको हुँदा पाण्डेले उत्पादन गरेको तरकारी र दूध विक्रीका लागि समस्या छैन । जति पनि बजारमै खपत हुने हुँदा उत्पादन बढाउनतर्फ लाग्नु भएको छ । १५ वर्षसम्म निरन्तर तरकारी खेती दूध उत्पादन गर्दै आउनु भएका चन्द्रलाल विदेशमा भन्दा बढ्दा खुसी र सुखी हुनुहुन्छ । विदेशको पीडाले आफूलाई गाउँमै उद्यमी बन्न सिकाएको उहाँ बताउनुहुन्छ ।

“म विदेश जानभन्दा पहिला पनि सामान्य रुपमा तरकारी खेती गरेको थिए, तर अहिले जस्तो व्यवसायिक बन्न सकेको थिएन, धेरै कमाइएला भनेर कतार पुँगे, त्यहाँ त निकै कडा काम गर्नु पर्दो रैछ, साहुको नमिठो गालीबोली सहन नसकेर गाउँ फर्किएर यही केही गरौँ भनेर लागे” पाण्डेले भन्नुभयो – “म अहिले ४० वर्ष भए मेरा उमेरका धेरै युवा विदेश छन्, गाउँ फर्किएर व्यवसायिक रुपमा तरकारी खेती गर्ने हो भने साउदी कतारमा भन्दा बढी आम्दानी गर्न सकिन्छ ।”

पाण्डेले तरकारी र दूध बेचेरै आठ जनाको परिवार चलाउनु भएको छ । बाबाआमा, श्रीमती र चार छोराछारी यही पेसाबाटै धानेको उहाँको भनाइ छ । पहिले घर परिवार चलाउनका लागि समस्या हुने गरेको स्मरण गर्दै तरकारी खेतीले सहज रुपमा जीवनयापन गर्न सक्ने बनाएको पाण्डेले बताउनुभयो । खास गरि हिउँदको बेमौसरी तरकारी उत्पादन गर्दै आएको उहाँले सुनाउनुभयो । सुरुमा आफूले रु १५ हजारबाट व्यवसाय सुरु गरेको भन्दै अहिलेसम्म करिब रु ३५ लाख लगानी भएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बागलुङले टनेल, भकारो गर्न र अन्य व्यस्थापनका लागि रु १५ लाख सहयोग गरेको भन्दै नगरपालिकाबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गर्नुभयो । आफूले पूर्णकालीन रुपमा एक जना कामदार राखेर रु १८ हजार तलब दिने गरेको भन्दै समय समयमा गाउँका अन्य युवाहरुलाई पनि रोजगार दिने गरेको उहाँको भनाइ छ । पाण्डेले तरकारी र दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्ने सुनाउनुभयो । तरकारी खेतीबाट केही सम्पत्तिसमेत जोडेको उहाँ बताउनहुन्छ ।

पाण्डेले भन्नुभयो – “तरकारी खेतीले मेरो आर्थिक अवस्था पनि उकास्यो, पहिले छ मुरी धान फल्ने खेत मात्रै थियो, अहिले मैले थप ३४ मुरी धान खेत किने, तराईमा एउटा घडेरी जोडेको छु, धैर्य भएर मेहनत गरेपछि सफलता हाँसिल गर्न सकिने रैछ भन्ने बुझ्दै छु, यो पेसाबाट मेरो सिंगो परिवारनै सन्तुष्ट छ, सक्दासम्म यही पेसा गर्ने हो, बाँकी पछि छोराछोरीले केही इल मगर्ने छन्, आत्मसन्तुष्टि सबैभन्दा ठूलो कुरा रैछ, धन सम्पत्ति त मेहनत गरे जोडी हालिन्छ ।”


डम्मर बुढा मगर/बागलुङ

Leave a Comment