जिल्ला खेलकुद विकास समितिले म्याग्दीलाई एन्फाको मान्यता दिन पहल सुरू भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र उपाध्यक्ष दीपक खतिवडासँग खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले मापदण्ड पूरा गर्ने तयारीमा रहेकोे बताउँदै सदस्यता दिन अनुरोध गर्नुभएको थियो । शनिबार एन्फा अध्यक्ष नेम्वाङ र खतिवडासँग भेट गदैं अध्यक्ष श्रेष्ठले एन्फाको मान्यता प्राप्त गरेमा फुटबल खेलमा म्याग्दीले फड्को मार्ने बताउनुभयो ।
‘हामीले राखेको प्रस्तावमा उहाँहरु सकारात्मक हुनुहुन्छ, अब म्याग्दीले मान्यता प्राप्तीमा रोकिएका मापदण्डहरुलाई ढिलाई गर्नुहुदैन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । एन्फा सदस्यता प्राप्त गरेमा म्याग्दीको फुटबलमा सहयोग, प्रशिक्षण तथा खेलाडीका लागि कोशेढुंगा सावित हुने अध्यक्ष श्रेष्ठको भनाई छ । भेटघाटमा उर्जा तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजाका स्वकिय सचिव प्रिजन भट्टचन लगायतको उपस्थिती रहेको थियो ।
एन्फा मान्यताका लागि सदरमुकाम बेनीमा रहेको खुल्लामञ्चको मापदण्ड प्रमुख बाधक रहेको छ भने क्लवहरुको नियमित नविकरण आवश्यक संख्यामा नहुदाँ समस्या भइरहेको छ । यसपटक जिल्ला खेलकुद विकास समितिले फुटबल खेलमा फड्को मार्न एन्फाको सदस्यताका लागि उच्च प्राथमिकता दिएको छ ।
जिल्ला फुटबल संघले एन्फाको मान्यता प्राप्त रेफ्रीको उत्पादन तथा प्रतियोगितामा समेत खटाउने गरेको छ । हालसम्म गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, लमजुङ, बाग्लुङ, स्याङ्जा, नवलपुर (साबिकको नवलपरासी) र मनाङ जिल्ला फुटबल संघ एन्फामा आवद्ध छन् ।