सञ्चालनमा आएको पैंतीस वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा सुरु गरेको छ।
सरकारबाट पन्ध्र शय्या सञ्चालनको अनुमति भएको बेलामा समेत चौसट्ठी शय्याबाट सेवा दिइरहेको अस्पताल हालै गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट पचास शय्याको अस्पतालमा स्तरोन्नति भएको छ। तर स्तरोन्नति भए पनि जनशक्तिको व्यवस्थापन नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक व्यवस्थापन र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा विशेषज्ञबाट सेवा सुरु भएको हो।
पन्ध्र शय्याको अनुमतिका लागि दिइएका जनशक्तिमा अस्पतालको आन्तरिक स्रोतबाट केही जनशक्ति थपेर चौसट्ठी शय्या अस्पतालको सेवा दिइरहेको अस्पतालले अब हाडजोर्नी, बालरोग र स्त्रीरोग विशेषज्ञबाट सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए।
अस्पतालको स्तरोन्नति भए पनि प्रदेश सरकारबाट दरबन्दी थप नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक स्रोत र नेपाल सरकारको छात्रवृत्ति कोटाबाट विशेषज्ञ सेवा सुरु गरिएको उनले बताए। प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिको निर्णय गरिसकेको अवस्थामा सोहीअनुसार जनशक्ति थप गर्न केही समय लाग्ने छ तर अस्पतालले सेवाग्राहीको मागलाई ध्यानमा राख्दै आफ्नो स्रोतबाट विशेषज्ञ नियुक्त गरेर सेवा सुरु गरेको हो।
अस्पतालको पोषण कार्यक्रमअन्तर्गत आफ्नै स्रोतबाट बेहोर्ने गरी बालरोग विशेषज्ञको रूपमा डा. प्रकाश गौतमले ओपिडीबाट सेवा दिने भएका छन्। यस्तै, हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रूपमा डा. ढुण्डीराज पौडेलले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए। डा. पौडेलको दरबन्दी प्रदेश अस्पताल पर्वतमा नै रहे पनि उनी अध्ययनका लागि गएका थिए।
स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा डा. प्रियसा अधिकारी र एनेस्थेसियालोजिस्टको रूपमा डा. बालकृष्ण श्रेष्ठ छात्रवृत्तिमा आएसँगै अस्पतालले विस्तारित रूपमा विशेषज्ञ सेवा सुरु गरेको हो। छात्रवृत्तिमा आएका चिकित्सकले कम्तीमा दुई वर्ष सेवा गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुराम विकले बताए।
‘उनीहरू सबै एमडी सकेर विशेषज्ञ सेवा दिन यहाँ आएका छन्। हामीले अहिलेसम्म दिँदै आएको सेवा झन् प्रभावकारी र विशेषज्ञबाट दिन सकिने भएको छ,’ डा. बास्तोलाले भने, ‘यसरी विशेषज्ञ सेवा दिन सुरु गरेको यो नै पहिलो हो।’ ‘अब महिलाको जटिल शल्यक्रिया गर्न बेहोस बनाउने चिकित्सक छैन भनेर रोकिनुपर्ने अवस्था छैन। क्रिटिकल केसमा पनि हामीले काम गर्न सक्ने भएका छौँ।’
छात्रवृत्तिमा आएका चिकित्सकको अवधि दुई वर्ष हुने बताउँदै उनले उनीहरू फर्किने अवस्थामा पनि प्रदेश अस्पताल स्तरोन्नति भएको अस्पतालको रूपमा जनशक्ति उपलब्ध गराउने बताए। केही दिनमा गण्डकी प्रदेश सरकारले हाडजोर्नीको उपचारका लागि नयाँ उपकरण उपलब्ध गराउन लागेकाले पर्वतसहित आसपासका बिरामीलाई हाडजोर्नीका चिकित्सक खोज्दै पोखरा वा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हट्ने डा. बास्तोलाको भनाइ छ।
सरकारबाट प्राप्त र अस्पतालले व्यवस्थापन गरेका गरी कुल एक सय दस जना जनशक्तिबाट सञ्चालित अस्पतालमा अब कम्तीमा चौध-पन्ध्र जना विशेषज्ञ चिकित्सक रहने अस्पतालका निवर्तमान अध्यक्ष शङ्कर गिरीले बताए। केही वर्षअगाडि दैनिक चालीस-पैंतालीस जना बिरामीलाई सेवा दिने गरेको अस्पतालले अहिले दैनिक तीन सयभन्दा बढी बिरामीलाई सेवा दिन सकिएको उनको भनाइ छ। रासस