मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ‘जिओलोजिकल पार्क’ बनाउने भएको छ । कलात्मक पहाड रहेको वडा नं २ घमीस्थित ढाक्मरको पहाडमा विभिन्न कलात्मक आकृतिहरू बनाइने छ ।
रातो, खस्रो पहाडलाई सुहाउँदो भित्ताहरुमा कलात्मक आकृतिसहित आसपासका क्षेत्रमा रहेका प्राचिन गुफाहरूको संरक्षण गर्ने गरी पार्क बनाउन लागिएको हो । अध्यक्ष लोप्साङ छोम्पेल विष्टले रातो पहाड भएको ढाक्मर क्षेत्रमा भूगर्भीय अध्ययनका साथै अनौठो स्थानमा पुगेको अनुभूती हुने गरी ‘जिओलोजिकल पार्क’ बनाउन ४३ लाख बजेट विनियोजन गरिएको छ । पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने छ ।
गाउँपालिका अध्यक्ष विष्टले भन्नुभयो, ‘‘जिओलोजिकल पार्कबाट विश्वको ध्यान तान्छौं, यस क्षेत्रमा रहेको सम्भावनलाई पार्कले उजागर गर्ने छ ।’’ अध्यक्ष विष्टका अनुसार पार्क बनाउने स्थानमा रहेको रातो पहाड आसपासका क्षेत्रमा विभिन्न रङका दृष्यहरुको अवलोकन गर्न पाइन्छ ।
गाउँपालिकाले प्राचिन सभ्यता झल्किने धार्मिक तथा पर्यटकीयस्थलसँगै स्थानीयको आयआर्जनसँग जोडिएका कृषि क्षेत्रको विस्तारका लागि स्याउ खेती, कृषि उन्त्रउपकरणको वितरण, शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रमा समेत बजेटलाई प्राथमिकता दिएको छ ।