ग्रामिण क्षेत्रका किसान र स्थानीय सरकारकै लागि टाउको दुखाईको विषय बनेको ‘बाँदर आतंक’लाई अनेक जुक्ति लगाएर नियन्त्रणको प्रयास थालिएको छ । हुल बाँधेर आउने बाँदरले किसानको बाली सखाप पार्नुका साथै मानिस माथिनै आक्रमण गर्ने घटनाहरु बढ्न थालेपछि ग्रामिण क्षेत्रका बस्ती रित्तिदै गएका छन् भने खेतीयोग्य जमिन बाँझो पल्टिने क्रम बढेको छ ।
ग्रामिण क्षेत्रमा मानवीय गतिविधि बढाउन स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाएर बाँदर आतंक नियन्त्रणको प्रयास थालेका हुन् । यहाँको जैमिनी नगरपाकिाले बाँदर आतंक रोक्न ‘बाँदर बगैचा’ बनाउने योजना कार्यान्वयन गर्ने भएको छ भने काठेखोला गाउँपालिकाले सामुदायिक वनको सहारा लिने भएको छ ।

तीन वर्षदेखि चर्चामा सिमित बनेको ‘बाँदर बगैचा’को निर्माणको कामलाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजाने घोषणा गरेको छ । बाँदर आतंककै कारण किसानले बस्ती छाडेर बसाई सरेको, जमिन बाँझो हुँदा कृषि उत्पादकत्व घट्दा खाद्यन्न आयात गर्ने क्रम बढ्दै गएपछि ‘बाँदर बगैंचा’को काम थाल्नैपर्ने निष्कर्षमा पुगेको जैमिनीका नगरप्रमुख नरबहादुर पुनले बताए ।
जैमिनीले वडा नं. ८ छिस्तीको पुरानो गाउँमा ‘बाँदर बगैचा’ निर्माणको काम गर्दैछ । ‘‘वन ऐन, वन्यजन्तुसम्बन्धी कानूनले बाँदर बगंैचा निर्माणको काम रोकिएको थियो । बाँदरलाई संघिय सरकारले कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगंैचा बनाएर किसानको बाली संरक्षण गर्ने शुरु गरिने छ’’ पुनले भने ।
बाँदर बगैँचामा किसानको बालीमा क्षति पुर्याउने बाँदरहरु राख्ने योजना छ । ‘‘बाँदर आतंकबाट आजित किसानलाई बगैंचाले राहत पुर्याउने छ भने अनुसन्धान केन्द्र र आकर्षक पर्यटकीय गन्तव्य बन्न पनि सक्छ’’ पुनले भने । पुरानो गाउँ पर्यकीय पूर्वाधार तथा बाँदर बगैचाको लागि जैमिनीले ३ लाख बजेट विनियोजन गरेको छ ।
जैमिनी १ को भण्डारा गाउँबाट मात्रै पछिल्लो दुई वर्षमा ४२ घरका १ सय ५७ जनाले काठमाडौं, चितवन, बुटवल, पोखरा, बागलुङ बजारमा बसाइँ सरेका छन् । तीन वर्षअघिसम्म गुल्जार भण्डारा गाउँ अहिले मानवरहित सिंगो बस्ती अनकन्टार बन्ने अवस्थामा पुगेको छ । केही वर्ष पहिले ७६ घरपरिवार रहेको भण्डारामा अहिले एकाद घरमा सीमित भएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताउँछन् ।
रैथाने बालीको उत्पादन बढाउने नीति लिएको जैमिनीले सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरो लगायतका उत्पादनको लेबलिङ र प्याकेजिङ गरी बजारीकरण गर्ने नगरप्रमुख पुनले योजना सुनाए । रैथाने बालीको उत्पादन बढाउन जैमिनीले ७ लाख बजेट विनियोजन गरेको छ । बाँदर प्रभावित क्षेत्रमा मसलेदार तथा फलफुल बाली लगाउन ३ लाख बजेट छुट्टाईएको छ ।
यस्तै, काठेखोलाले वनमै बाँदरका लागि खानाको व्यवस्थापन गरेर बाँदर नियन्त्रण गर्ने नीति लिएको छ । सामुदायीक वनमा फलफुल तथा गिठा, भ्याकुर, तरुल लगायतका कन्तमुल लगाएर बाँदर आतंक नियन्त्रणको प्रयास थालिने काठेखोलाका अध्यक्ष राजु थापाले बताए । गत वर्षनै पालिकाले सामुदायीक वन तथा बाँझो जग्गामा कन्दमुल लगाउने कार्यक्रम ल्याएको थियो । गत वर्ष पुरा गर्न नसकिएको कार्यक्रमलाई यसवर्ष मुर्तरुप दिईने अध्यक्ष थापाको भनाई छ ।