म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ।
विसं २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरधुरी किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ। गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो।
नहरमा पानी चलाएपछि लुरवाङ्को फाँटमा धान रोपाइँका लागि यसपाली आकाशे पानी कुर्न नपरेको स्थानीय किसान वुद्धि जुग्जालीले बताए। कच्चि नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो।
उपभोक्ता समितिका अध्यक्ष झकबिर जुग्जालीले पक्की नहर निर्माण भएपछि बेल्फिको मुहानबाट लुुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झञ्जटबाट मुक्ति मिलेको बताए।
“यसपाली पक्की नहर निर्माण भएपछि हरेक वर्ष पाइप फेर्नुपर्ने समस्या हटेको छ,” उनले भने, “पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ।” चालु आर्थिक वर्षमा रु २० लाख बजेट बिनियोजन भएको योजनामार्फत गलघण्टीको भिर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको छ।
एक सय ७० मिटर १२५ मिलिलिटर क्षमताको पाइपलाइन जडान गरिएको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताए। गलघण्टीको जोखिमयुुक्त अक्करे भिरमा सावधानी अपनाएर करिब १०० पक्की नहर निर्माण गरिएको उनले बताए। गत वर्ष बिनियोजन भएको रु १० लाख बजेटबाट बेल्फिमा इन्टेक, बाँध र करिब २०० मिटर पाइपलाइन जडान भएको थियो।
आगामी वर्षका लागि बिनियोजन भएको रु १० लाख बजेटबाट लुरवाङमा एक वटा ‘क्रसिङ’ र थप नहर बनाएर आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। लुरवाङमा धानलगायत खाद्यबालीका साथै सुन्तला र व्यवसायिक तरकारी खेती गर्न सहज भएको छ। बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीय बासिन्दाले अन्नको भण्डार मान्ने गर्छन्।