बेनी नगरपालिका ४ सिंगाको सुर्केमेलामा क्रिकेट मैदान निर्माणको सम्भावना अध्ययनका लागि सामुहिक रुपमा पहल थालनी भएको छ । पछिल्लो समय खेलकुदमा निकै चर्चामा रहेको क्रिकेट खेलको सम्भाबना बढ्दै गएको परिप्रेक्षमा बेनी नगरपालिका ४ सुर्केमेलाका स्थानीय वासिन्दा, युवा क्लब एवम् जिल्ला क्रिकेट संघ तथा खेलप्रेमीहरुको सक्रियतामा मैदानको सम्भावनाको बारेमा अध्ययन थालिएको हो ।
सुर्केमेला युवा क्लबका अध्यक्ष युवराज रोकाका अनुसार सुर्केमेलाको शिवालय आधारभुत विद्यालयको नजिकै रहेको सार्वजनिक जमिनमा क्रिकेट मैदानको सम्भावना रहेकोले त्यसमा अध्ययन थालिएको हो ।

मैदान नाप्ने काम भएको छ लम्बाइ पुग्छ चौडाइ पनि ठिकै देखियो, अब आमभेला राखेर सबै जनताको राय लिएर अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो अब आमभेला राखेर सबै जनताको सहमती लिएर थप योजना बनाउने हो, सबै जनताको चाहना अनुसारको काम गर्ने र सबैलाई सहजतता र सबैको फाइदाका लागि नै क्रिकेट मैदानको कल्पना गरिएको हो ।
क्रिकेट मैदान निर्माण गर्ने योजना अनुरुप स्थानीय क्लब, खेलाडी, स्थानीय वासिन्दा तथा जिल्ला क्रिकेट संघका प्रतिनिधि सहित प्राविधिक टोलीले पहिलो चरणको अध्ययन गरेको सुर्केमेलाका स्थानीय कृष्ण केसीले जानकारी दिनुभयो । आवश्यक हो र सम्भावना पनि राम्रो रहेको हुनाले क्रिकेट खेल्न मिल्ने मैदान त्यस स्थानमा तयार गर्दा राम्रो हुन्छ उहाँले भन्नुभयो । क्षेत्रफल पुग्छ र बस्तीहरुबाट नजिकै रहेको उपयुक्त स्थान भएकोले यो स्थानमा क्रिकेट मैदान बनाउँदा सबैका लागि उपयुक्त हुन्छ ।

शिवालय आधारभूत विद्यालयका पूर्व शिक्षक खड्गबहादुर पुनले सदरमुकाम बेनी देखि नजिकै रहेको र अन्य केहि कतै पनि असर नगर्ने खालको खुल्ला स्थान भएकोले यसलाई खेल हबको रुपमा अगाडी लैजान सकिन्छ । क्रिकेट मैदान निर्माण गर्न सकियो भने सबै हिसाबले नयाँ तथा पुराना खेलाडीका साथै स्थानीय जनताले फाइदा लिने उहाँको तर्क थियो ।
जिल्ला क्रिकेट संघ म्याग्दीका सचिव छवि आचार्यले क्रिकेट खेलका लागि आवश्यक पर्ने मैदान हाल म्याग्दीमा नभएको अवस्थामा सुर्केमेलामा रहेको यो स्थानलाई मैदान बनाउन सकिने बताउनुभयो । मैदान निर्माण भएको खण्डमा खेलाडीले अभ्यास गर्न पाउने तथा स्थानीय जनताले पनि आफ्नो उत्पादनको बजारीकरणका लागि सहजीकरण हुने धारणा राख्नु भयो ।
प्राविधिक तथा क्रिकेट खेलाडी भरत धामीका अनुसार सुर्केमेलाको मैदान नाप गर्दा क्रिकेटकालागि आवश्यक पर्ने क्षेत्र पुग्छ र खेलका लागि पनि नदि किनारमा उपयुक्त खालको स्थान छ । खेल मैदानका रुपमा विकास गर्न सकेको खण्डमा बेनी देखि नजिकै रहेको स्थानमा खेलका लागि पनि सहज हुनेछ । यदी उक्त स्थानमा खेल मैदान निर्माण गर्न सकेको खण्डमा सदरमुकाम क्षेत्रमा हुने खेलहरु पनि सुर्केमेलामा आयोजना गर्न मिल्ने सम्भाव रहन्छ । दुई सय मिटर भन्दा धेरै लामो र झण्डै डेढसय मिटर चौडा देखिएको हुनाले क्रिकेटका लागि यो मैदान उपयुक्त नै देखिन्छ उहाँले भन्नुभयो ।