---Advertisement---

कालीगण्डकीमा हरिशयनी एकादशीको रौनक : स्नान र तुलसी रोपणको उत्साह

On: July 6, 2025 10:48 AM
Follow Us:

हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपेर प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिंदैछ।  

आजदेखि चतुर्मास पर्व पनि सुरु हुँदैछ। महत्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीको अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानदेखि भिड लागेको छ। जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत नदी तटमा बिहानदेखि स्नान गर्नेको मेला लागेको हो। मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको संगमको रुपमा रहेको मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम पनि राखिएको छ।  

त्यसैगरी, पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशको सीमानामा रहेको शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढाटाढाबाट श्रद्धालु आएका छन्। मोदीवेणीमा स्नान गर्न पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौंको संख्यामा श्रद्धालु आउने गर्छन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालुहरू आएका छन्।  

मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ। कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरेबराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ। हरिशयनी एकादशीको अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकीर्तनसमेत आयोजना गरिएको छ।  

आजको दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन रहेको छ। तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ। रासस

Leave a Comment