---Advertisement---

‘आलमबाट ज्यानको खतरा छ, मलाई मार्छ होला’

On: July 6, 2025 9:21 PM
Follow Us:

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोटका घाइते तथा प्रत्यक्षदर्शी गौरीशंकर राम चमारले आफूलाई नेता मोहम्मद अफताब आलमबाट ज्यानको खतरा रहेको बताएका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आलमलाई सफाइ दिने उच्च अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्दै न्यायको लागि अपिल गरेका हुन्।

भारतको बिहार, सीतामढी घर भएका चमारले आलमको इँटाभट्टामा काम गर्दा उक्त घटनाको साक्षी बन्न पुगेको बताए।

उनले भने, ‘आलम छुटेकोमा मलाई दुःख लाग्यो। त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ। मलाई मार्छ, त्यस्तो मलाई लागेको छ। अब मलाई डर भयो।’

पत्रकार सम्मेलनमा आफ्नो शरीरमा लागेको बमको चोट र पोलेको घाउ देखाउँदै उनले घटनाको विवरण सुनाए।

‘हप्ताको पैसा लिन बोलाएर मलाई लगेको थियो। घरको ढोकाको छेउमा पुग्नासाथ बम पड्कियो। मेरो शरीरमा आगो लाग्यो,’ उनले भने, ‘आगो लागेपछि म चिच्याउँदै भागेँ। घरको पछाडि पानी थियो, त्यहाँ पानीमा खसेपछि आगो निभ्यो र म फेरि ज्यान जोगाउन गहुँको खेततिर भागेँ। त्यहीँ म बेहोस भएँ।’

उनले आफूलाई बम लागेको र बेहोस भएको बताउँदै होस आउँदा भारतको सीतामढीमा ठेलामा रहेको पाएको जानकारी दिए। घटनापछि आलम पक्षबाट आफूलाई एकपटक पनि नसोधिएको र कुनै सहयोग नपाएको उनको गुनासो छ।

‘आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन। त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो,’ उनले न्यायको माग गर्दै भने। चमारले घटनापछि आफ्नो शारीरिक अवस्था कमजोर भएको र काम पाउनसमेत कठिनाइ भएको गुनासो गरेका छन्।

तीन महिनासम्म अस्पतालको कष्टकर बसाइ र उपचारमा साढे तीन लाख भारतीय रुपैयाँ खर्च भएको उनले सुनाए। ‘उपचारका लागि सरकारले घर बनाउन दिएको इँटासमेत बेच्नुपर्‍यो,’ उनले भावुक हुँदै भने, ‘तर आजसम्म अफताब आलम वा उसको कुनै मान्छेले मलाई के छ भनेर सोधेन, एक रुपैयाँ दिएन।’

शरीरभरि पोलेको घाउका कारण उनी घाममा काम गर्न सक्दैनन्। काम पाए पनि शारीरिक कमजोरीका कारण केही दिनमै निकालिन्छन्। ‘म त एउटा तमासाजस्तो भएँ। जहाँ जान्छु, मान्छेहरू फोटो खिच्न थाल्छन्,’ उनले आफ्नो वर्तमान अवस्थाबारे दुखेसो पोखे, ‘कसरी जिउने, के खाने, मेरो जीवन नै बर्बाद भयो।’

प्रहरीमा बयान दिएपछि आलमका मान्छेहरूले आफ्नो घरमा गएर आमालाई धम्की दिएको पनि उनले खुलासा गरे। ‘उनीहरूले मेरी आमालाई भनेछन्, ‘तेरो छोरो अब गयो, दुई-चार वर्षपछि बाँच्दैन।’

आलमलाई सफाइ दिने अदालतको फैसलाविरुद्ध लड्न उनी काठमाडौं आएका हुन्। ‘म सरकारसँग न्याय माग्न चाहन्छु। यस्तो अपराधीलाई छोड्नु हुँदैन, उसलाई कडाभन्दा कडा सजाय हुनुपर्छ,’ उनले सरकार र न्याय प्रणालीलाई गुहारे।

आफ्नो जीवन तहसनहस बनाउने अपराधी खुला घुम्दा आफ्नो ज्यान जुनसुकै बेला जान सक्ने डरले उनलाई सताइरहेको छ।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा नेपाली कांग्रेसका उम्मेदवार अफताब आलमका काकाको घरमा बम विस्फोट भएको थियो।

निर्वाचन प्रभावित पार्न बनाउँदै गरेको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई घटनाको प्रमाण नष्ट गर्न जिउँदै नजिकैको इँटाभट्टामा पोलेर मारेको आलममाथि आरोप लागेको थियो।

लामो समयसम्म अनुसन्धान हुन नसकेको यो घटनामा प्रहरीले प्रमाण जुटाएर अभियोजन गरेपछि जिल्ला अदालतले आलमलाई दोषी ठहर गरेको थियो। तर, हालै उच्च अदालत वीरगञ्जले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको छ।

यही फैसलापछि पीडितहरूले न्यायका लागि पुनः संघर्ष थालेका छन्।

Leave a Comment