रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको स्वास्थ्य चौकीमा पछिल्लो पाँच वर्षदेखि एक्सरे मेसिन प्रयोगमा आउन सकेको छैन । २०७८ मा कोभिड अस्पतालका लागि भन्दै गाउँपालिकाले खरिद गरेको एक्सरे मेसिन पाँच वर्ष पुग्दा पनि प्रयोगमा आउन नसकेको हो । मेसिन खरिद गरेपछि डार्क रुम निर्माण गर्नुका साथै अन्य व्यवस्थापनको लागि प्रयास भएको भए पनि मेसिन सञ्चालन हुने त परैको कुरा जुन अवस्थामा ल्याइएको थियो त्यो बाकस समेत खोलिएको छैन ।
तत्कालिन स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले तत्कालिन समयमा कोभिड उपकरण खरिदका लागि आएको बजेटबाट एक्सरे मेसिन, माइक्रोस्कोब, बेड तथा युएसजि खरिद गरिएको बताउनुभयो । अरु सबै प्रयोगमा आएको छ तर एक्सरे मेसिन प्रयोगमा आउन सकेन । युएसजी मेसिन महिलाको गर्भ जाँचका लागि प्रयोग भइरहेको छ भने अन्य बेडहरु पनि प्रयोगमा आए तर एक्सरे मेसिन प्रयोग तर्फ कसैको पनि ध्यान गएन कि के भयो थन्किएर बसेको छ ।
उक्त समय रघुगंगा गाउँपालिकामा रहेको कोभिड अस्पतालमा कार्यरत डा.सन्तोष बोहोराले कोभिडका बिरामीको छातीको एक्सरे गर्नु पर्ने र त्यसको प्रयोग अरु समयमा पनि हुने भएकोले खरिदका लागि आग्रह गर्नुभएको थियो । उहाँसँगको समन्वय तथा तत्कालिन आवश्यकताका आधारमा उक्त एक्सरे मेसिन खरिद गरिएको थियो ।

कोभिड साम्य भएसँगै डाक्टर पनि गाउँपालिकाबाट बिदा भएपछि उक्त एक्सरे मेसिन सञ्चालन तर्फ ल्याउन नसकिएको वडा अध्यक्ष खिमबहादुर शाहीले बताउनु भयो । अहिले पनि एक्सरे मेसिन सञ्चालनमा ल्याउनका लागि गाउँपालिकासँग समन्वय भइरहेको भए पनि प्रयोगमा आउन नसकिएको हो । उहाँले भन्नुभयो, यहाँ भएको एक्सरे प्रयोगमा ल्याउन सकेको खण्डमा गाउँमा भएका बिरामीहरुको एक्सरे गरेर आवश्यकता अनुसार थप उपचारका लागि पठाउन सजिलो हुने भए पनि अहिले त्यसो गर्न नसकिएको बताउनु भयो । कतिपय बिरामीको उपचारका लागि माथिल्लो अस्पताल पठाउँदा एक प्रकारको राय दिएर पठाउन सकिन्थ्यो अहिले भएकै सामान पनि प्रयोग नहुँदा समस्या भयो वडा अध्यक्ष शाहीले सुनाउनु भयो ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेमप्रसाद जैसवालले आवश्यक समन्वयको प्रयास गरिएको भए पनि सञ्चालन गर्न नसकिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ– मेसिन छ प्रयोग गर्न सकिएको छैन, के कसरी प्रयोगमा ल्याउन सकिन्छ त्यसको बारेमा पनि छलफल भइरहेको छ ।