उमेरले ६८ वर्षभन्दा माथिका ज्येष्ठनागरिकहरु तथा (क) वर्गको अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिलाई लक्षित गरी सञ्चालित ‘ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रमबाट सदरमुकाम बेनीबजारको जिल्ला अस्पताल तथा स्वास्थ्य क्लिनीकसम्म हिँडेर आउन नसक्ने ज्येष्ठनागरिक र अन्य सर्वसाधारणहरु प्रत्यक्ष लाभान्वित बनेका हुन् ।

वि.सं. २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पहलमा खासगरी ज्येष्ठनागरिकहरुलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको थियो । बेनी नगरपालिकाको नगर प्रमुखमा निर्वाचित सुरत केसीले पदभारग्रहण गर्ने क्रममा पहिलो निर्णय हरेक महिनाको एकपटक ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी पठाउने र प्रत्येक महिनाको १५ गते नगरका सबै स्वास्थ्य संस्थाहरुमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने निर्णय गर्दै हस्ताक्षर गर्नुभएको थियो ।

अहिले सोही निर्णयअनुसार महिनाको एकपटक बेनी नगरपालिकाको सबै वडामा स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्यकर्मीहरु खटिएर ज्येष्ठनागरिकको घरघरमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गरिरहेका छन्भने महिनाको एकपटक अनिवार्य रुपमा स्वास्थ्यचौकीमा ४५ वर्षभन्दा माथिका महिलाहरुलाई लक्षित गरेर नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन भैरहेको छ । ज्येष्ठनागरिकको घरघरमा परिचालित स्वास्थ्यकर्मीहरुले अन्य उमेर समूहका सर्वसाधारण, नागरिकहरुको पनि स्वास्थ्यको चेकजाँच गर्दै आइरहेका छन् । महिलालक्षित नसर्ने रोगको स्क्रिनिङ क्याम्पमा पनि अन्य उमेर समूह समेत लाभान्वित भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

ज्येष्ठनागरिकहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै रोग तथा स्वास्थ्य समस्याहरुको समयमै पहिचान गरेर ज्येष्ठनागरिकहरुको उपचारमा लाग्ने खर्चलाई घटाउने, हरेक महिना ज्येष्ठनागरिकहरुमा स्वास्थ्यको निगरानी गरी हेल्थ प्रोफाइल तयार पार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरी लागू गरिएको बेनी नगरपालिकाले जनाएको छ । यसैगरी घरघरमा पुगेर ज्येष्ठनागरिकहरु तथा अशक्त बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, निगरानीपश्चात् आवश्यक औषधी उपचार एवं थप उपचारका लागि रिफर गर्ने र आवश्यकता अनुसार मनोसामाजिक परामर्श सेवा समेत प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

स्थानीय सरकारको असल अभ्यासको रुपमा रहेको ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमबाट नगर क्षेत्रका १ हजार ६ सय ९४ जना ज्येष्ठनागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले उपचारात्मक सेवा अन्तर्गत लक्षित वर्गमा उच्च रक्तचाप तथा मधुमेहको चेकजाँच र उपचार, घाउ तथा चोटपटकको उपचार गर्ने गर्दछन् । यसैगरी खानपान, हेरचाह, धुम्रपान तथा मद्यपानको विरुद्धमा परामर्श तथा शारीरिक व्यायाम सम्बन्धी सल्लाह तथा सुझाव, ज्येष्ठनागरिकको स्याहारसुसार एवं परिवारलाई आवश्यक परामर्श र उनीहरुको स्वास्थ्यमा आउन सक्ने समस्याबारे सचेतना दिने गरिएको छ ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पछिल्लो समय बसाइँसराइ तथा विभिन्न कारणले घरका अन्य सदस्यहरु सहर, बजार तथा वैदेशिक रोजगारीमा जाने भएकाले घरमा ज्येष्ठनागरिकहरु एक्ले रहने हुँदा उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी नगरपालिकामार्फत नगरका सबै ज्येष्ठनागरिकहरुको घरघरमा स्वास्थ्यकर्मी कार्यक्रममार्फत जनशक्ति परिचालन गरिएको बताउनुभयो । उहाँले यो कार्यक्रम बेनी नगरपालिकाको सफल र प्रभावकारी कार्यक्रमको रुपमा कार्यान्वयन भैरहेको जानकारी दिनुभयो ।

सुरत केसी, नगर प्रमुख/बेनी नगरपालिका
‘हामीले प्रत्येक महिनाको २० गतेदेखि २९ गतेसम्म ज्येष्ठनागरिक र (क) वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्तिहरुको घरघरमा हाम्रा स्वास्थ्यकर्मीहरु पुगेर उहाँहरुको भाइटल लिने गर्नुहुन्छ । उहाँहरुको स्वास्थ्य परीक्षण गरी उहाँहरुलाई आवश्यक सल्लाह, सुझावका साथै उहाँहरुको स्वास्थ्य बीमाबारे बुझ्नुका साथै औषधी दिने काम गरिएको छ । घरघरमा स्वास्थ्यकर्मी कार्यक्रममार्फत बेनी नगरपालिका क्षेत्रमा करिब १७ सयजना ज्येष्ठनागरिकहरुलाई हामीले सेवा दिएका छौं भने हरेक महिनाको १५ गते नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन गरेका छौं । पछिल्लोपटक नसर्ने रोगहरु पनि हाम्रोमा मृत्युको कारण बनिरहेको छ । हाम्रो खानपान, आनीबानी र व्यवहारले नसर्ने रोगबाट पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाएको देखेपछि पछिल्लोपटक हरेक महिनाको १५ गतेका दिनलाई नसर्ने रोगको दिन (Non Communicable Disease Day)का रुपमा चलाइरहेका छौं । हाम्रो स्वास्थ्य संस्थाहरुमा सुगर, प्रेसरको चेकजाँच भैरहेको छ भने यो वर्षदेखि हामीले किड्नीको पनि परीक्षण सुरु गरेका छौं ।’

‘धेरैजसो किड्नीका बिरामीहरु म्याग्दीमा हुने र डायलाईसीस गर्नुपर्ने कारणले यो वर्षदेखि किड्नीको पनि चेकजाँच गर्नेगरी कार्यक्रम थप गरेका छौं । प्रत्येक महिनाको १५ गते ३५ वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिरहेका छौं । जसले गर्दा यो नसर्ने रोगको स्क्रिनिङ क्याम्प र घरघरमा स्वास्थ्यकर्मी अभियान बेनी नगरपालिकाको सफल र प्रभावकारी कार्यक्रमभित्र परेको छ । यही अभियानभित्र हामीले पाठेघरको क्यान्सर र स्तन क्यान्सरलाई पनि भिआईए क्याम्प सञ्चालन गरी परीक्षण गरिरहेका छौं । यो क्याम्पमार्फत नगरपालिकाको सबै वडामा महिनाको एकपटक क्याम्प सञ्चालन गरी क्यान्सरको परीक्षण भैरहेको छ । ज्येष्ठनागरिक र (क) वर्गको अपाङ्गता भएका व्यक्तिहरु तथा भिआईए क्याम्प दुवै कार्यक्रमबाट बेनी नगरपालिकाका करिब ५ हजार नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।’

ज्योति लामिछाने, नगर उपप्रमुख/बेनी नगरपालिका
‘हामी बेनी नगरपालिकामा निर्वाचित भएर आएपछि तत्कालै सुरु गरेको कार्यक्रममध्येको एक हो नसर्ने रोगको स्क्रिनिङ क्याम्प र ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी परिचालन कार्यक्रम । यसमा हामीले हरेक महिनाको १५ गतेका दिन नसर्ने रोगको पहिचान गर्न नगरका सबै स्वास्थ्य संस्थाहरुमा शिविर सञ्चालन गर्दै आइरहेका छौं । नगरपालिकामार्फत सञ्चालन भैरहेको नसर्ने रोगको स्क्रिनिङ क्याम्प र ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी परिचालन कार्यक्रम अत्यन्तै प्रभावकारी हुुनुका साथै सफल बनेको छ । यी दुवै कार्यक्रमबाट आम नगरवासीहरु प्रत्यक्ष रुपमा लाभान्वित भैरहेको हामीले महसुस गरेका छौं । अर्कोतर्फ यस कार्यक्रमले ग्रामीण भेगमा रोग लुकाएर बसेका वा विभिन्न कारणले स्वास्थ्य संस्थासम्म जान नसकिरहेका नागरिकहरु पनि प्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् । यी कार्यक्रमबाट स्वास्थ्य अवस्थाको जोखिम पत्ता लागेको छ भने समयमै रोग पत्ता लगाएर निदान गर्ने तथा रोगको प्रकृति हेरेर थप उपचारको लागि अस्पतालहरुमा रिफर गर्ने गरिएको छ । यसबाट अकालमै ज्यान गुमाउनबाट सेवाग्राही बच्नुका साथै स्थानीय सरकार के हो ? र स्थानीय सरकारले के गर्नुपर्नेरहेछ भन्ने अनुभूति गराएको छ । कतिपयको घरमा आफन्तजन कोही नहुँदा पनि स्वास्थ्यकर्मीहरु घरमै पुगेर गरेको उपचार निकै प्रभावकारी भएको छ । यसले स्थानीय सरकारको अपनत्व थप बढेको छ । योसँगै हामीले नगरका सबै वडामा महिलाहरुलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनको लागि पनि वडाको विभिन्न ठाउँ तथा स्वास्थ्य संस्थाहरुमा भिआईए क्याम्प सञ्चालन गरिहेका छौं । यसबाट पनि महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनुका साथै उनीहरुको स्वास्थ्य अवस्था र थप उपचारको लागि रिफर गर्न समेत यो शिविरले पनि महत्वपूर्ण सहयोग पुगेको छ । हामीले भिआईए क्याम्पमार्फत महिला दिदीबहिनीहरुलाई पाठेघर तथा स्वास्थ्य सुरक्षाको लागि के–के सुरक्षाहरु अपनाउने भन्ने बारेमा पनि सहजीकरण गरेका छौं । साथै महिला दिदीबहिनीहरुले महिनावारीको समयमा गर्नुपर्ने सरसफाइ, आराम तथा पोसिलो खानेकुरा र आनीबानीको बारेमा पनि उहाँहरुलाई सिकाएका छौं ।’

अर्जुन शर्मा, प्रमुख प्रशासकीय अधिकृत/बेनी नगरपालिका
‘बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा तय गरेका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने अन्तिम चरणमा छौं । नयाँ आवमा स्वास्थ्यलगायत क्षेत्रमा नयाँनयाँ कार्यक्रमहरु तर्जुमा गर्ने संघारमा आएका छौं । बेनी नगरपालिकामा ज्येष्ठनागरिकहरुको घरघरमा पुगेर सेवा दिने कार्यक्रमलाई अहिले पनि निरन्तरता दिइरहेका छौं । यो कार्यक्रमले पक्कै पनि ज्येष्ठनागरिकहरुको स्वास्थ्यको अवस्था सुधार गर्न र सम्भावित जोखिमहरु पहिचान गरेर समयमै उपचार गर्ने हिसाबले त्यो एउटा सफलता मिलेको हामीले पाएका छौं र आगामी आर्थिक वर्षमा पनि यसलाई निरन्तरता दिनेछौं । त्यस्तैगरी प्रत्येक महिनाको १५ गतेलाई एनसिडी–डे भन्छौं । यस दिनमा हामीले नसर्ने रोगको विभिन्न प्रकृतिको बारेमा स्वास्थ्य परीक्षण गर्छौं । अब अर्को वर्षदेखि नसर्ने रोगको स्वास्थ्य परीक्षणमा हामीले किड्नीको परीक्षणलाई पनि जोडेका छौं, त्यसरी विस्तार गरेर यो सेवालाई अझ अगाडि बढाउने तयारी गरेका छौं । त्यसबाहेक यसपालि बेनी नगरपालिकाले समुदायमा आधारित रोग निगरानी प्रणाली (सर्भिलेन्स सिस्टम) विकास गरेका छौं । त्यसका लागि कार्यविधि पनि तय भएको छ र हालसालै मात्र स्वास्थ्यकर्मीहरुसँग ओरिन्टेसन भएको छ, अब उहाँहरुले वडावडामा गएर ओरिन्टेसन गर्नुहुन्छ । त्यसले कोभिडलगायत डेंगी, जस्तै कुनै महामारी हुन्छ, आउटब्रेक हुन लाग्यो भने त्यो सिस्टममा तत्काल सूचना प्रणालीमा आबद्ध भएर त्यसले सबैलाई वार्निङ पठाउने र त्यस विरुद्धका अभियानहरु सञ्चालन गर्नको लागि सपोर्ट गर्ने खालको कार्यक्रम छ । त्यसबाहेक नियमित रुपमा आमा सुरक्षा कार्यक्रम, पोषण कार्यक्रम र खोप कार्यक्रमहरु नियमित रुपमा चलेकै छन् ।’

अमृता सुनार, सिअनमी/पुलाचौर स्वास्थ्यचौकी
‘ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम अन्तर्गत हामी हरेक महिनामा उहाँहरुको घरघरमा गएर मुख्यतयाः सुगर तथा प्रेसरको जाँच गर्ने गर्दछौं । ज्येष्ठनागरिकहरुले खाइरहेको औषधी के, कस्तो छ ? नियमित औषधी सेवन गरे, नगरेको, औषधीले फाइदा वा असरबारे जानकारी लिने गरिएको छ । ज्येष्ठनागरिकहरुको स्वास्थ्य अवस्था पत्ता लगाउनुका साथै नगरपालिकाले उपलब्ध गराएको औषधीहरु वितरण तथा परामर्श सेवा दिने गरेका छौं । थप अरु समस्या भएमा प्रेषणका लागि सुझाव दिने गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमले उपलब्ध गराउने औषधीहरु भने गुणस्तरीय बनाउनुपर्ने आवश्यकता देखिन्छ । ज्येष्ठनागरिक र अपाङ्गता भएकाहरुको स्क्रिनिङ क्याम्पसँगै उनीहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक छ ।’