‘पाप धुरिबाट कराउछ’ भने झै म्याग्दीमा दुई दशक अगाडी म्याग्दीमा खुकुरी, लाठी र चिर्पट र घरको पिंढीमा बाँधेर घरेलु हतियार बन्चरो प्रहार गरी दुई फरक फरक स्थानमा यूवाको ज्यान लिने घटनामा संलग्नलाई प्रहरीले २२ बर्ष र २५ बर्षपछि पक्राउ गरेको छ । क्रुर यातना दिई निर्ममतापूर्वक ज्यान लिइएको यो घटनाका पीडित न्यायको खोजीमा थिए ।
‘पाप धुरिबाट कराउछ’ भने झै आजभन्दा २२ बर्ष अगाडी गरेको पापको सजाय अहिले भोग्नु परेको छ । जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नामका ४० बर्षिय खिमबहादुर गर्बुजालाई कर्तव्य ज्यान र ज्यान मर्ने उद्योगमा फरार गर्बूजालाई पोखरा महानगरपालिका–१९ लामाचौरबाट म्याग्दी प्रहरीले २२ बर्षपछि पक्राउ गरेको हो । बि.स २०६० सालमा कात्तिक ६ गते भएको २४ वर्षीय धनराम तिलिजाको हत्या घटनाका मुख्य अभियुक्त हुन् । मृतक तिलिजाको घर घेरा हालेर २० जनाको समूहले खुकुरी, लाठी र चिर्पट प्रहार गरेर तिलिजाको हत्या गरेको प्रहरीले जनाएको छ ।तत्कालीन समयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा २० जनाविरुद्ध किटानी जाहेरी प¥यो । प्रहरीले तत्कालै १७ जनालाई पक्राउ ग¥यो । जाहेरीमा उल्लेख भएकामध्ये गर्बुजासहित तीन जना घटना भएको दिनदेखि नै फरार थिए ।
हाल पक्राउ परेका गर्बुजा घटना हुँदा जम्मा १८ वर्षका थिए ।जिल्ला अदालत म्याग्दीले २० जनाविरुद्ध नै २०६३ चैत ३० गते जन्मकैदको फैसला सुनायो । त्यसमध्ये तीन जना (हाल पक्राउ परेका गर्बुजासहित) २०६८ जेठ ११ गते पुनरावेदन अदालत पुगे । पुनरावेदनले २०६८ मंसिर २६ गते जिल्लाकै फैसला सदर गरिदियो । त्यसपछि उनीहरू सर्वोच्च अदालत पुगे । सर्वोच्चले पनि २०७२ असार ११ गते जिल्ला र पुनरावेदनकै आदेश सदर गरिदियो ।

फरारमध्येका गर्बुजा माथिका दुईवटै अदालतको आदेशपछि निरास हुँदै भारत तथा तेस्रो देशमा पुगेर रोजगारीमा विताए ।नेपाल फर्किएपछि उनलाई प्रहरीले खोजिरहेकै थियो । म्याग्दीमा नआएर पोखराबाटै वैदेशिक रोजगारीका लागि कतार जाने योजना बनाएका गर्बुजाले पुलिस रिपोर्ट लिन खोज्दा क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा तिलिजा हत्याकाण्डमा गर्बुजाको संलग्नता रहेको उल्लेख थियो । हत्याकाण्डपछि ७ वर्ष विदेश बसेर आएको खुलाएका छन् । २०६० चैत ७ गते राती माओवादीलेसदरमुकाम बेनीमा आक्रमण ग¥यो ।
सरकारी कार्यालय प्रहरी, कारागार र अन्य कार्यालयमा बम प्रहार गरेर ध्वस्त पारिदिएपछि जेलमा रहेका अधिकांश कैदीबन्दी भागे । भाग्नेमध्ये तिलिजा हत्याकाण्डका अभियुक्तहरू पनि थिए । भागेकामध्ये केहीलाई प्रहरीले पुनः पक्राउ ग¥यो । केही भने अहिले विदेश लुकेर बसेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले तत्कालीन समयमा कारागारमा माओवादीले आक्रमण गरेकै कारण धेरै कैदीबन्दी फरार भएका थिए । दग्नाम गाउँमा भएको यो घटना सम्झिदा अझै पनि स्थानीयबासी झस्किन्छन् । त्यस्तै बन्चरो प्रहारबाट हत्या गरी फरार भएका जिल्लाको धवलागिरी गाउँपालिका–३, बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र ४९ वर्षीय पर्सबहादुर बुढालाई २५ बर्षपछि प्रहरीको फन्दामा परे ।
बि.स २०५७ साल कात्तिक २८ गतेका दिन धवलागिरी–३ बस्ने (तत्कालिन अवस्थामा २४ वर्षका) गर्बे पाइजा मगरलाई घरको पिंढीमा बाँधेर घरेलु हतियार बन्चरो प्रहारबाट हत्या गरी बु्ढाद्वय फरार रहेका थिए । क्रुर यातना दिई निर्ममतापूर्वक ज्यान लिएका बु्ढाद्वयलाई विशेष सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको टोलीले असार २२ काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।
म्याग्दी जिल्ला अदालतले बि.स २०६६ असोज २६ गते दुर्गानारायणलाई २० वर्ष कैद सजाय तोकेको थियो भने सोही अदालतले बि.स २०५९ फागुन २५ मा पर्सबहादुरलाई पनि २० वर्ष कैद सजाय तोकेको थियो । हत्यापश्चात् दुवैजना फरार रहेका थिए । विभत्स तरिकाले गरिएको हत्यामा संलग्नको सूचनासँगै प्रहरीले समेत समयमै एक्सन लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक पल्लीमगर म्याग्दीको प्रहरी प्रमुख हुदाँ समेत यो घटनालाई चासो लिएका थिए । दुई दशक अगाडी म्याग्दीमा घटेका दुई घटनामा संलग्न फरार अभियुक्तलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत हुदै जिल्ला कारागार चलना गरिएको प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताए ।
‘अपराध गर्नेहरू जहाँ गए पनि उम्कन पाउँदैनन् । एक दिन पक्राउ पर्छन्’ प्रनाउ थापाले भने । उनले अपराध गरेर बिभिन्न आवरणमा समाजमै लुकेर बसिरहेको खोजीकार्य सधै हुने बताए । माथिको दुई घटनामा संलग्नलाई पक्राउ गरेसँगै अपराध गर्नेहरू एक दिन अवश्य कानूनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिएको समेत प्रनाउ थापाको भनाई छ । जिल्ला प्रहरीले जिल्ला अदालतबाट फरारको नामावली लिएर खोजतलास गर्ने गरेको छ ।