---Advertisement---

नक्कली मह ‘विष’ नै हो

By हरिकृष्ण गौतम
On: July 8, 2025 10:25 AM
Follow Us:

गुणस्तरहीन मह उत्पादन गरी बिक्री गर्ने भारतीय गिरोह सक्रिय रहेको भेटिएको छ । नक्कली मह उत्पादन गर्ने कारखाना संचालन गरी म्याग्दी, बागलुङ, पर्वतका बजार तथा ग्रामिण क्षेत्रमा सस्तोमा मह बिक्री गर्न भारतीय नागरिकको एक सदस्यलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका–८,कालिपुलबाट नक्कली मह, १ लाखभन्दा बढी नगदसहित पक्राउ गरेको छ ।

भारतको बिहार राज्य सपैलाका ३५ बर्षिय रुपचंद धामीलाई १७ केजी ५५ ग्राम कच्चा पदार्थ, नगद १ लाख ४ हजार सहित पक्राउ गरिएपछि विभिन्न किसिमका केमिकल प्रयोग गरी बिक्री गर्ने अन्य सदस्यहरू समेत रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पौडेलका अनुसार अभियुक्त धामीलाई नियन्त्रणमा लिएपछि संगै आएका अन्य सदस्यहरू भागेको बताए ।

‘यो टोलीका अन्य सदस्यहरू भागेको लोकेशनबाट देखिन्छ, मह विक्री गर्न आउनेहरूबाट सर्तक रहनुपर्छ’ प्रहरी निरीक्षक पौडेलले भने । नक्कली मह बनाउन आवश्यक कच्चा पदार्थ र बिक्री गरेको नगद सहित पक्राउ परेका धामीलाई जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको छ ।

म्याग्दीमा यसअगाडी समेत भारतीय र नेपाली नागरिकले नक्कली मह बिक्री गर्न आएपनि पक्राउ परेका थिएनन् । मौरीको चाका सहित चिनी, फिटकिरी, युरिया लगायतका अखाद्य बस्तुको प्रयोग गरी मह बनाएर सस्तोमा बिक्री गर्ने गरिन्छ ।

करिब डेढ दशकदेखि मौरीपालनका सक्रिय रहेका मंगला गाउँपालिका वडा नं १ कुहुँका मौरीपालक कृषक गोविन्द खत्रीका अनुसार नक्कली मह विष सरह हुने बताए । उनले सक्कली महलाई पहिचान गर्ने सजिलै सकिने बताए । उनले गुलियो र महजस्तै देखिने सबै सक्कली मह नहुने बताए ।

उनका अनुसार महमहमा चिनी र पानी मिसाइन्छ । यसमा भएको मिसावट थाहा पाउन रुई (कपास)को सानो डल्लोलाई महमा भिजाउनुस् र आगो लगाउनुस् । महमा चिनी र पानीको मिश्रण छ भने रुई (कपास) बल्दैन ।

यता बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले मिसावटजन्य पदार्थको प्रयोगले झाडापखाला, रक्तचाप, ग्यास्ट्रिक, कलेजो सुन्निनु, जन्डिस र कलेजोको समेत क्यान्सर हुने खतरा हुने भएकाले शंका लागेमा परीक्षण गर्नुपर्ने बताए । डा. पोख्रेललका अनुसार अधिकांस दिर्घरोगीहरु खानपिनकै कारण हुने बताए ।

हरिकृष्ण गौतम

Leave a Comment