नेपाली भाषासाहित्यमा समर्पित साधना र सिर्जनशील यात्राको उच्च मूल्याङ्कन गर्दै म्याग्दीका स्रष्टा शिव सस्मितलाई विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाले ‘विनेशाम गण्डकी साहित्य रत्न सम्मान’ अर्पण गरेको छ ।
२१२ औँ भानु जयन्तीको अवसरमा आयोजित विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको पाँचौं राष्ट्रिय अधिवेशन, सम्मान तथा भानु विमर्श कार्यक्रममा बुुधबार’ बेनी–६ म्याग्दीका स्रष्टा सस्मितलाई सम्मान गरेको हो । विनेसामका सल्लाहकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ संयोजक, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिङ्देन ‘परदेशी’ र केद्रिय महासचिव सुनिता राई कन्दङ्वा सदस्य रहेको समितिले गण्डकी प्रदेशबाट नेपाली भाषा, साहित्य र समाजप्रति उहाँको प्रतिबद्धता र निःस्वार्थ साधनाका लागि महासङ्घले यो सम्मान प्रदान गरेको नेपाल शाखाले जनाएको छ ।

सम्मानित स्रष्टा सस्मितले विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली भाषासाहित्यको उन्नयनका लागि निरन्तर कलम चलाउँदै आउनुभएको छ । उहाँका डायरीमा टाउकेहरू (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह–२०६९), बहाव (गजलसङ्ग्रह– २०७२), धूमिल आकाश (शैक्षिक उपन्यास–२०७२), विलोकन (मुक्तकसङ्ग्रह–२०७५), धवलबाटिका गजलसङ्ग्रह (संयुक्त लेखन २०७३), कुरैकुराको खेती (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह —२०८०) लगायतका कृतिहरूले सामाजिक यथार्थ, मानवीय संवेदना र आलोचनात्मक दृष्टिकोणलाई उजागर गर्दै आएका छन् । यी कृतिहरूमा उहाँको वैचारिक परिपक्वता, सृजनात्मक गहिराइ र भाषा प्रयोगको विशेष खँदोपन प्रष्ट देखिन्छ
साहित्यिक सिर्जनाका साथै उहाँले विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादन, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको लेखन तथा सम्पादन, सामालोचना लेखनका माध्यमबाट भाषा–साहित्यको जग मजबुत पार्दै आउनुभएको छ । पुलस्त्य साहित्य प्रतिष्ठान, प्रगतीशिल लेखक सङ्घ, मुक्तक मञ्च, म्याग्दी, धौलागिरी कला तथा साहित्य मञ्चलगायतका संस्थाहरूमा सक्रिय रहँदै उहाँले विविध साहित्यिक प्रयासमा नेतृत्वदायी भूमिका खेल्नुुभएको छ। समालोचना र भाषा–समीक्षाको क्षेत्रमा उहाँको दृष्टिकोण गहिरो, निर्भीक र तटस्थ रहेको साहित्यिक वृत्तमा प्रशंसा गरिन्छ ।
‘साहित्यले विचार निर्माण गर्छ, विचारले देश’— सस्मित
कार्यक्रमपछि आयोजित संक्षिप्त साक्षात्कारमा सम्मानित स्रष्टा शिव सस्मितले भन्नुुभयो, “म सधैं कलमलाई कर्म ठानेर अघि बढें। यो सम्मानले जिम्मेवारी बढेको महसुस भएको छ। म अझै गम्भीरतापूर्वक नेपाली भाषासाहित्यको सेवामा लागिरहनेछु।”
“शिवजीले आफ्नो लेखनमार्फत ग्रामीण चेतना, समालोचना र शिक्षाको उन्नयनमा उल्लेखनीय योगदान गर्नुभएको छ। यस्तो स्रष्टाको योगदानको कदर गर्नु हाम्रो धर्म हो।” नेपाल शाखा अध्यक्ष कल्पना पौडेल ‘जिज्ञाशु’ले भन्नुभयो ।
यो सम्मानले म्याग्दीको साहित्यिक क्षेत्रलाई पनि उत्साहित बनाएको छ। स्थानीय स्रष्टा, शिक्षाविद् र सामाजिक अभियन्ताहरूले सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा उहाँलाई बधाइ दिँदै साहित्यलाई जीवन बनाउन प्रेरित गरिएको बताएका छन् ।