म्याग्दी बहुमुखी क्याम्पसले एक बर्षको अवधिमा क्याम्पसका विभिन्न संकाय र तहमा अध्ययनरत विद्यार्थीहरुलाई आन्तरिक स्रोतबाट १६ लाखभन्दा बढी छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसले विभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थी सहित छात्रवृत्तिको मापदण्ड पूरा गरेका विद्यार्थीलाई १६ लाख ११ हजार ५५० रुपैयाँ वितरण गरिएको हो ।

बिहिबार क्याम्पसले स्नातक तह विविएस, विएड र विए तेस्रो र चौथो वर्ष तथा विआइसिटीइ तेस्रो, पाँचौं र छैठौं सेमेस्टर र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई ५ लाख ४ हजार ६ सय पचास रुपैयाँ र क्याम्पसको सहजीकरणबाट शैक्षिक सत्र २०८१÷०८२ मा स्नातक तह प्रथम वर्षमा २६ जना, दोस्रो वर्षका ४ जना र स्नातकोत्तर तर्फ २ जना गरी कुल ३२ जना विद्यार्थीलाई ५ लाख ७० हजार विश्वविद्यालय अनुदान आयोगको सहयोग छात्रवृत्ति वितरण गरिएको सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले बताउनुभयो ।
क्याम्पसका सूचना अधिकारी समेत रहनुभएका सुबेदीका अनुसार क्याम्पसद्धारा सञ्चालन गरिने प्रत्येक आन्तरिक परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार स्वरुप नगद १५ सय, १ हजार र ५ सय रुपैयाँ समेत प्रदान गर्ने गरिएको छ । क्याम्पस प्रमुख श्रीधर सुबेदीले बार्षिक आन्तरिक तथा विभिन्न दाताको सहयोगबाट २१ लाख ८१ हजार ५५० रुपैयाा छात्रवृत्ति वितरण गरी विद्यार्थीलाई शैक्षिक राहत प्रदान गरिएको बताउनुभयो ।

‘क्याम्पसभित्र सुविधैसुविधा छ,छात्रवृत्ति पहुँच नभई उत्कृष्ट नतिजाको आधारमा प्रदान गरिन्छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । क्याम्पस प्रमुख सुबेदीले क्याम्पसमा स्थापना भएका विभिन्न छात्रवृत्ति कोषबाट उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरू छात्रवृत्ति वितरण गरिदै आएको छ साथै दुर्गम भेगबाट क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई न्यून शुल्कमा अधिकतम ४ हजारमा वस्न र खाना सहितको छात्रावास सुविधा समेत उपलव्ध छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी अध्यक्षता र सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष प्रेम वहादुर कार्की र प्रमुख अतिथि श्रेष्ठले छात्रवृत्ति पाउनु विद्यार्थीको अधिकार भएको बताउँदै विद्यार्थीहरुमा अनुशासनको महत्व प्रष्ट पार्दै ज्ञान सीपको विकास हुनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सञ्चालक समितिका कोषाध्यक्ष श्री शेर बहादुर केसी, सदस्यहरु ठाकुर प्रसाद शर्मा, घनश्याम खड्का, पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, प्राध्यापक, कर्मचारी लगायत छात्रवृत्ति प्राप्त गर्ने एक सय बढी विद्यार्थीको उपस्थिती रहेको थियो । क्याम्पसमा एक विद्यार्थीले बार्षिक न्यूनतम ३ हजारदेखि अधिकतम १६ हजार २ सय रुपैयाँसम्म छात्रवृत्ति पाउने गरेका छन् ।

यसै अवसरमा स्वतन्त्र विद्यार्थी युनियनद्धारा गुरुसम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो । स्वतन्त्र विद्यार्थी युनियनका सभापति संगम चोखाल क्षेत्री, सचिव मञ्जुर कटुवाल, कोषाध्यक्ष अस्मिता भण्डारीले गुरुहरुको सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुवेदीले गर्नुभएको थियो । म्याग्दी बहुमुखी क्याम्पसले एक बर्षको अवधिमा क्याम्पसका विभिन्न संकाय र तहमा अध्ययनरत विद्यार्थीहरुलाई आन्तरिक स्रोतबाट छात्रवृत्ति वितरण गरेको छ ।