पर्वत जेसिजको आयोजनामा देशभरका जेसिज तथा गैर जेसिजहरुको लागि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
सामाजिक सेवामा सक्रिय रहँदै आएको जेसिजले खेलका माध्यमबाट पनि जेसिज तथा गैर जेसिज व्यक्तिहरूलाई आपसी सम्बन्धमा जोड्नका लागि इच्छुक समूहहरू सहभागी हुन पाउने गरी प्रतियोगिताको आयोजना गरिएको हो । पर्वत जेसिज वर्ष–२०२५ का अध्यक्ष अच्युत पौडेलले पर्वत जेसिजका कामहरूलाई जिल्लाभित्रमा मात्रै सीमित नगरेर अन्य जिल्लाका जेसिज तथा जेसिज बाहिरका संघसंस्था क्लबहरूसँग जोडिनका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए ।
जेसिजमा आबद्ध रहेका सदस्यहरू तथा देशभित्र र बाहिर रहेका विभिन्न सामाजिक व्यक्तिहरूका सहयोगमार्फत आउँदो भदौको ५, ६ र ७ गतेका लागि प्रतियोगिताको आयोजना गरिएको हो । पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुने प्रतियोगितामा विजेता बन्ने समूहले पुरस्कार स्वरूप एक लाख एक हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता बन्ने समूहले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतियोगितामा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषणा गरिने, सबैभन्दा बढी गोल गर्ने खेलाडी, ‘प्लेयर आफ द टुर्नामेन्ट’, ‘वेस्ट किपर’, ‘वेस्ट डिफेन्डर’ र ‘वेस्ट मिडफिल्डर’ लाई कुश्मामा रहेको साहसिक खेल ‘जीपलाइन’ मा साहसिक खेलको अवसर प्रदान गरिने पर्वत जेसिजले बताएको छ ।
‘सेभेन ए साइड फुटबल’ को प्रत्येक टिममा ७ जना मात्रै खेलाडी खेल्छन् । यो परम्परागत ११ जना खेलाडीहरू रहेर खेलिने फुटबलको सानो संस्करण हो । यसको मैदान सानो हुन्छ भने खेललाई दुई ‘हाफ’ मा विभाजन गरिएको हुन्छ । मनोरञ्जन, सामुदायिक एकता र प्रतिभा पहिचान गर्ने उद्देश्यले विभिन्न विद्यालय, क्लब, समाज वा सङ्घसंस्थाको आयोजनामा ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताहरू आयोजना हुने गरेका छन् ।