---Advertisement---

‘जति पन्छायो त्यति खस्छ फापरखेतको पहिरो’

By हरिकृष्ण गौतम
On: July 12, 2025 6:54 AM
Follow Us:

यसबर्ष उर्जा, जलस्रोत तथा सिचाँई राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ ले फापरखेत पहिरोको सास्ती हटाउने गरी बेलिब्रिजका लागि स्रोत सुनिश्चिता गरेपनि यो बर्खामा पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरोमै जोखिम मोलेर यात्रा गनुपर्ने बाध्यता भने हटेन । सामान्य बर्षामा पनि माथिबाट खस्ने पहिरोले मंगला, मालिका र धवलागिरी गाउँपालिकाबासीलाई घण्टौसम्म सास्ती दिने गरेको छ ।

पहिरो झन झन भयानक बन्दै जाँदा विगत डेढदशकदेखि बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने पहिरो झनै फराकिलो बन्दै जाँदा सधैँको टाउको दुखाइ बनेको छ । पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि सरकारी संयन्त्रबाट भएको ढिलासुस्तीका कारणपश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या भोग्नुपरेको छ ।

प्रतिनिधिसभा सदस्य एवम् संघीय राज्यमन्त्री गर्बुजा र गण्डकी प्रदेशका पुर्व भौतिक योजना तथा यातायात राज्यमन्त्री रेशमबहादुर जुग्जालीको सक्रियतामा विभिन्न चरणमा बेलिब्रिजका लागि पहल भएको थियो । बाह्ै महिना जोखिम बनेको फापरखेतको पहिरोले सडकमा आवतजावत मात्रै होइन आसपासका क्षेत्रमा रहेका घरलाई समेत जोखिम बनाएको छ ।


‘यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ,बैकल्पिक सडकमा सरोकारवालाले ध्यान नदिदाँ समस्या ज्युँकोत्युँ छ’ मंगला गाउँपालिका–१,कुहुँ पैयुपाँटाका दिलबहादुर किसानले भन्नुभयो । तत्कालिन समयमा ड्रिलिप परियोजना, जिविस तथा हाल पूर्वाधार कार्यालय बजेट खन्याएर पनि माथिबाट खस्ने पहिरो नरोकिदाँ पश्चिम म्याग्दीबासीले बर्खाको समयमा जोखिम मोलेर यात्रा गर्नुपरेको छ ।

करिब २० वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। असार महिनामा मात्रै पटकपटक पहिरो खस्यो, पन्छाउन ढिलाई हुदाँ घण्टौसम्म यात्रु सडकमै रोकिनुपरेको यात्रुको गुनासो छ ।फापरखेतमा करिब २ सय मिटर सडक पहिरोग्रस्त छ । सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै गएको छ ।


मंगला गाउँपालिका वडा नं ३ पखेर लुलीयाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणको प्रस्ताव अनुसार आगामी बर्खाको समयमा पहिरोस्थलबाट आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य हुने उर्जा, जलस्रोत तथा सिचाँई राज्यमन्त्री गर्बुजाले बताउनुभयो । ‘अहिलेसम्म जनताले धेरै सास्ती भोग्नुभयो, अब हामीले बैकल्पिक मार्गबाटै सहज यात्रा गर्ने गरी बजेट सुनिश्चित गरेका छौ’ प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गर्बुजाले भन्नुभयो ।

बेलिब्रिजसँगै सडकखण्डलाई थप सहज बनाउने गरी थप स्रोत ब्यवस्थापनमा अझै प्रयास भइरहेको गर्बुजाको भनाई छ । यता मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पहिरोका कारण भोग्नुपरेको सास्ती हटाउन गाउँपालिकाको अगुवाईमा प्रभावित क्षेत्रका बासिन्दसँग समन्वय गरेको बताउनुभयो ।

२४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौति बनेको छ । पटकपटक पन्छाउने क्रममा माथिबाट पहिरो खसेर अप्रेटर दुर्घटनामा पर्ने अवस्था आएकाले अब सहज विकल्पको खोजी भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।


हरिकृष्ण गौतम

Leave a Comment