---Advertisement---

३ हजार मिटर माथि काम गर्ने मजदुरले १३ सय ७८ रुपैयाँ पाउने

By हरिकृष्ण गौतम
On: July 12, 2025 8:21 AM
Follow Us:

म्याग्दीमा पहिलोपटक उच्च हिमाली क्षेत्रमा विकास निर्माणमा काम गर्ने मजदुरको ज्यालादर तोकिएको छ । समुन्द्री सतहदेखि ३ हजार माथिको उचाईमा सरकारी काममा खटिने मजदुरको अभाव भएपछि दैनिक ज्याला मजदूरी गर्ने मजदुरको दररेट कामय भएको छ । जिल्ला दररेट निर्धारण समितिले उच्च क्षेत्रमा काम गर्ने मजदूरको दैनिक ज्याला १३ सय ७८ रुपैयाँ ५० पैसा पाउने गरी दैनिक ज्यालादर निर्धारण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठक सडक सञ्जालले विस्तार भएका हिमाली क्षेत्रका विकास निर्माणका गतिविधिमा तल्लो क्षेत्रमा काम गर्ने भन्दा थप १५ प्रतिशत थप ज्याला पाउने समितिका सदस्य सचिव एवम् पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले बताउनुभयो ।


‘हालसम्म जिल्लामा स्वीकृत दररेटमा यो सुविधा थिएन, हामीले छिमेकी जिल्ला मुस्ताङसँग मिल्ने गरी दररेट कायम गरेका छौ’ पौडेलले भन्नुभयो । यो सरकारी योजनामा दैनिक ८ घण्टा काम गर्ने मजदुरको हकमा मात्रै कायम भएपनि निजी तथा गैरसरकारी संघ–संस्थाले जिल्ला दररेट नघट्ने गरी ज्याला दिन सक्नेछन् ।

म्याग्दीमा आर्थिक वर्ष २०८२÷०८३ को लागि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा बसेको बैठकले जिल्लाको भौगोलिक अवस्था तथा उच्च क्षेत्रकाम काम विभिन्न निर्माणको क्षेत्रमा काम गर्ने दक्ष तथा अदक्ष कामदारको रेटदेखि सवारीसाधन नपुगेको स्थानमा भरिया, खच्चडले सामान ढुवानी गर्दाको पाउने ज्याला समेत तोकिएको छ। जिल्ला दररेटमा सडक सञ्जालले नछोएको स्थानमा भरियाले सामान ढुवानीमा प्रतिकेजी ३ रुपैयाँ ६० पैसा र त्योभन्दा तलको क्षेत्रमा प्रतिकेजी ३ रुपैयाँ ५ पैसा कायम भएको छ ।


‘जिल्लमा समितिले निर्धारण गरेको दररेटभन्दा कम दिएमा उजुरी दिनुहोला कानूनबमोजिम कारबाही गरिनेछ’ प्रजिअ ढकालले भन्नुभयो । जिल्ला दररेट निर्धारण समितिले डकर्मी, सिकर्मी, नकर्मी, प्लास्टर, प्लम्बर,बेल्डर, रकड्रि«लर, हेभी डाईभरको प्रतिब्यक्ति प्रतिदिन ११ सय ९० कायम गरेको छ । गत दुई आवमा प्रतिव्यक्ति प्रतिदिन क्रमश ११ सय ४०, ११ सय ६० रुपैयाँ थियो ।

अर्धदक्ष ज्यामीले प्रतिदिन काम गरेको ९६४ रुपैयाँ पाउनेछन्। गत वर्ष ९४० कायम भएको उक्त दररेट अहिले २४ रुपैँया बढेको हो । त्यसैगरी अदक्ष ज्यामीले प्रतिदिन काम गरेको ९१३ रुपैयाँ पाउनेछन्। गत वर्ष ८९० कायम भएको उक्त दररेट अहिले २३ रुपैँया बढेको छ भने साधारण हेल्पर, हेभी हेल्परको गतबर्षभन्दा प्रति ब्यक्ति प्रतिदिन २० रुपैयाँ बढेको छ ।


यता मजदुर संगठनका प्रतिनिधिले बजार महंगी अनुसार सहाउँदो नभएपनि थप अध्ययन गर्ने बताएका छन् । सरकारी योजनामा काम गर्दा समेत मजदुरले ज्याला नपाउने अवस्थामा तोकिएको ज्याला पाउने र सुविधा थप्नुपर्ने अडान जिल्लाका मजदुर अगुवाहरूले बताएका छन् । खच्चडबाट असजिलो सामान ढुवानी गर्दा प्रतिकेजी ३ रुपैँया ३५ पैसा लाग्ने गरेर रेट तोकिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको छ । समितिको अध्यक्षमा प्रजिअ ढकाल, सदस्यमा जिसस सदस्य जानकी विश्वकर्मा, निमित्त जिसस प्रमुख अमृत सुबेदी, प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुबेदी, निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपालप्रसाद भट्टचन, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, सदस्य सचिवमा पूर्वाधार विकास समितिका प्रमुख विष्णु पौडेल रहेका छन् ।

हरिकृष्ण गौतम

Leave a Comment