---Advertisement---

डियर कमरेड, बबी र प्रकाश पौडेल

By निक्षेप कार्की
On: July 12, 2025 6:55 PM
Follow Us:

यो लेख पढ्दै गर्दा तपाईंलाई लाग्ला यो विद्यार्थीहरूको चुनावको कथा हो। हार पछिको रुवाई हो।

होइन।

यो हाम्रो पुस्ताको मुटुमा लागेको समय-समयमा दुखिरहने आलो घाउको कथा हो  । यो हाम्रो सपनाको हत्याविरुद्ध पहिलो विद्रोहको कथा हो। हामीलाई भविष्य भन्नेहरूले नै हाम्रो भविष्यलाई कसरी आफ्नो जुत्तामुनि निर्ममतापूर्वक कुल्चिन चाहन्छन् भन्ने सत्य हामीले नाङ्गो आँखाले देखेको कथा हो।

मेरो पुस्ताले के खोज्छ?

शब्दहरूको आडम्बर नभई भावनाको सम्बन्ध खोज्छ।

खोक्रो आश्वासन नभई इमानदारीको न्यानोपन खोज्छ।

म लगायत १५५१ विद्यार्थी जोश, जाँगर र सपना बोकेर मनसुन सुरु हुनुभन्दा ठीक अघि देशका कुनाकाप्चाबाट काठमाडौँ आईपुगेका थियौँ। कमरेडको बाक्लो र न्यानो देखिने खोल ओढेका किङमेकरहरू बन्द कोठामा बसेर हाम्रो सपनाको मोलतोल गरिरहेका थिए। हामीलाई विचार, सिद्धान्त र योजना बोकेका जीवन्त कार्यकर्ताको रूपमा नभई उनीहरूको स्वार्थको गाडी तान्ने विवेकशून्य रोबोट र भोट खसाल्ने रबर-स्ट्याम्पका रूपमा व्यवहार गरिँदै थियो।

यो लेख लेख्दै गर्दा मलाई दक्षिण भारतीय चलचित्र डियर कमरेडको दृश्यहरु आँखा अगाडी झल्झली आईरहेको छ।जुन दृश्यमा नायक बबी रगतको हरेक थोपामा अन्यायविरुद्धको आगो दन्काईरहेको हुन्छ। ऊ सानोतिनो अन्याय पनि सहन सक्दैन र तुरुन्तै मुक्का चलाउन तयार हुन्छ। उसको लागी कमरेड हुनु भनेको अरुको लागि लडिदिनु  अरुलाई अन्यायबाट बचाइदिनु हो।

उसकी प्रेमिका लिलीको क्रिकेटर बन्ने सपनालाई प्रणाली, शक्ति र सत्ताले निर्ममतापूर्वक कुल्चिदिन्छ। आफ्नै तरिकाले आफ्नी प्रेमिका लिलीको सपनाको लडाइँ लड्दा उसले लिलीको घाउमा मलम लगाउनुको सट्टा झन् नुनचुक छर्किदिन्छ। बबी टुट्दा लिली झन् धेरै एक्लिन्छिन्। वर्षौंपछि बबी फर्केर आउँदा लिलीलाई हाँस्न मात्र होइन जिउनै बिर्सिएको अवस्थामा भेट्छ। त्यतिबेला टुटेको मनबाट निस्किएको प्रश्न, को हो कमरेड? को जवाफमा बबीले दिएको परिभाषा सामान्य थिएन। त्यो उसको आफ्नै अहंकारमाथिको सबैभन्दा गहिरो प्रहार थियो। उसले बुझेको थियो कि कमरेड हुनुको अर्थ कसैको लागि हतियार उठाउनु वा उसको नायक बनिदिनु मात्र होइन रहेछ।

कमरेड त्यो हो जो तिम्रो लागि लड्दैनतिमीसँगै उभिन्छ। जो तिम्रो लडाइँलाई आफ्नो बनाउँदैनबरु तिम्रो शक्ति बन्छ। तिम्रो आवाज बन्नुअघि उसले तिम्रो मौनताभित्र दबिएका हजारौँ शब्दहरूलाई सुन्छ । जसले विजयको नारा लगाउनुअघि संघर्षको यात्रामा बगेका तिम्रो आँसु पुछिदिन्छ र भन्छ तिमीलाई पिडा हुँदा मलाई दुख्छ। हामी सँगै छौँ। लड्नु, संघर्ष गर्नु म छु नी भन्दै काँधमा हात राखेर तिम्रो हार मेरो हार होतिम्रो जित हाम्रो जित हो भन्छ।बबीले कमरेडलाई पद र आडम्बर मात्र नभई कमरेडलाई आँधीको बीचमा पनि ढल्न नदिने भरोसा र न्यानो अँगालोका रुपमा चित्रित गर्दछ।

त्रिभुवन विश्वविद्यालय,कीर्तिपुरको स्मृति भवनमा, अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनको त्यो संग्राममा हामीले आफ्नो बबी भेट्टाएका थियौँ कमरेड प्रकाश पौडेलको रूपमा। उनको आँखामा मैले आफ्नो पुस्ताको विद्रोही आगो देखेको थिएँ। परम्परागत र जुझारु विद्यार्थी नेतृत्वहरूबीच प्रकाश पौडेल नयाँ सोचका प्रवक्ता थिए। उनले सामाजिक सञ्जालमा आफूले अखिल २.० मार्फत प्रविधि, उद्यमशीलता र समावेशी शिक्षाको गुणस्तर बढाउने भन्दै १०० पृष्ठ लामो दस्तावेज समेत अधिवेशनको पूर्वसन्ध्यामा सार्वजनिक गरेका थिए। १२ वर्षको उमेरदेखि नै विद्यार्थी आन्दोलनमा होमिएका उनको इमानदार प्रयास र सामाजिक उद्यमशीलताले विद्यार्थीका आधारभूत समस्यामा नयाँ बहस सिर्जना गर्ने संकेत दिएको थियो। यो लडाइँ हार्न सकिन्छ भन्ने उनलाई थाहा थियो। केही लडाइँहरू जित्नको लागि होइन इतिहासलाई अन्याय भइरहेको बेला हामी चुपचाप बसेका थिएनौँ भनेर बताउनका लागि पनि लडिन्छ भन्ने समेत उनलाई थाहा थियो ।

akhil 2.0 with prakash poudel.jpeg
अखिल २.० काे प्रचार

म घरबाट काठमाडौँ हिँड्दा मेरी आमाको आँखामा एउटा सपना थियो मेरो छोरो नेता बन्छ, देशको लागि केही गर्छ।बुबाले आशीर्वाद दिँदै भन्नुभएको आफ्नो विचारमा अडिग रहनू, कहिल्यै नझुक्नू मेरो मूलमन्त्र थियो। म त्यो चुनाव हलमा एक प्रतिनिधि मात्र थिइनँ म आफ्नो परिवारको त्यो सपना र विश्वासको भारी बोकेर एउटा सिपाहीजस्तै उभिएको थिएँ। हामीमध्ये धेरै जना डेराको साँघुरो कोठामा बसेर, चिया र चाउचाउको भरमा राजनीति गर्थ्यौं। हाम्रो लागि राजनीति विलासिता नभई देश बदल्ने एउटा उत्कट चाहना सहितको पवित्र आगो थियो।

भव्य उद्घाटन सत्रमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री सहित पार्टीका शीर्ष नेताहरूले आफ्नो भाषणमा लोकतन्त्र र जनताको बहुदलीय जनवादका ठूला-ठूला कुरा गरे। उद्घाटन सत्रको उल्लास र जोस बन्दसत्रको समय सम्म आईपुग्दा हाम्रो सपनामाथि कालो बादल मडारियो। हामीलाई जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद भन्नु प्रतिस्पर्धामा आधारित स्वतन्त्रताको सार हो भनी पढाउने पार्टीको नेतृत्वले सहमतिको नाममा आफ्नो इच्छा लाद्ने प्रयास स्वरूप हामीलाई त्यही प्रतिस्पर्धाबाट वञ्चित गराउन अन्तिम प्रयास गर्दै थियो। सोहि प्रयास स्वरूप पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन भन्दै अलिखित निर्देशन आयो चुनाव हुँदैनसहमति गर।त्यसपछि सुरु भयो लोकतन्त्रमाथिको सबैभन्दा भद्दा प्रहसन।

अध्यक्षका आकांक्षीहरू प्रकाश पौडेल, डा. सुजन कडरिया,दिपक धामी लगायतलाई बोलाएर मिल्न दबाब दिइयो। केही बरिष्ठ नेताहरूले एउटा बन्द कोठामा सेलेक्सनको सूची तयार गरे। कसरी कमरेडको खोल ओढेर लोकतन्त्रको हत्या गरिन्छ भन्ने प्रत्यक्ष अनुभव गर्ने मौका थियो त्यो। नेतृत्वले हाम्रो प्रतिष्पर्धामा भाग लिन पाउने, मतदान गर्ने अधिकार खोस्दै गर्दा मलाई लागिरहेको थियो उनीहरूले मेरो आमाको सपनाको हत्या गरिरहेका छन् । उनीहरूले हाम्रो स्वाभिमानलाई आफ्नो स्वार्थले कुल्चिरहेका छन्।

त्यो भावुक र दबाबको क्षणमा प्रकाश पौडेल बबीले परिभाषित गरेको कमरेडको प्रतिमूर्ति बन्दै सेलेक्सनलाई अस्विकार गर्दै हाम्रो भावनाको सम्मान गर्दै चुनाव लड्ने घोषणा गरे। महाधिवेशन स्थल कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको हलमा त्यो दिन प्रकाशको साथमा हुरी बतास बाहेक अरु केहि थिएनन्। प्रकाश पौडेलले म चुनाव लड्छुलोकतन्त्रको लागि लड्छु । मलाई कुनै पद चाहिँदैन । म तपाईंहरूको मतदान गर्ने अधिकार खोसिन दिन्न भन्दै गर्दा हजारौँ प्रतिनिधिको गलाबाट निस्किएको समर्थनको त्यो स्वरले कीर्तिपुरको डाँडा मात्र होइन, सिंगो देश गुञ्जायमान भयो।

prakash poudel.jpeg
एक-एक गर्दै प्रतिनिधिहरूले आफ्नो मोबाइलको लाइट बाले।

त्यही बेला हलको बत्ती निभाइयो। अँध्यारोमा हामीलाई तितरबितर पार्ने उनीहरूको योजना थियो। तर उनीहरू गलत थिए। त्यो अँध्यारोले हामीलाई तर्साएन अझ एकजुट बनायो। एक-एक गर्दै प्रतिनिधिहरूले आफ्नो मोबाइलको लाइट बाले। हजारौँ मोबाइलका ती प्रकाशहरूले हलको अन्धकारलाई चिर्दै रक्तिमको गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ भन्ने गीतको भाकामा हलको कुनाबाट सुरु गर्दै गुन्जाए:

क्याम्पस, क्याम्पसबाट उठ,

प्रदेश प्रदेशबाट उठ

अखिलको मुहार फेर्नलाई उठ।

यो हाम्रो विद्रोहको राष्ट्रगान थियो। हाम्रो अडानले नेतृत्वलाई घुँडा टेक्न बाध्य बनायो। हलको अर्को कुनाबाट उर्जा भर्दै अर्को विद्रोहको स्वर जीवन शर्माको गीतबाट गुञ्जियो:

समयसंग सम्झौता होईन,संघर्ष गर संघर्ष

आउछन हजार चुनौती,स्वीकार गर सहर्ष।

हाम्रो अडानले नेतृत्वलाई निर्वाचन कार्यक्रम घोषणा गर्न बाध्य बनायो। त्यस रात हामीले पहिलो मोर्चा जित्यौँ।

सेलेक्सनको योजना असफल हुँदै गर्दा शक्तिको सबैभन्दा घिनलाग्दो खेल सुरु भयो। हामीमाथि शत्रुलाई जस्तो व्यवहार गरियो । संस्थापन पक्षको आधिकारिक उम्मेदवार भन्दै आफ्ना उम्मेदवार अघि सारी राज्यको सम्पूर्ण शक्ति उनको पक्षमा लगाईयो। हामी जो प्रकाश पौडेलको पक्षमा उभिएका थियौँ, निर्वाचनमार्फत नेतृत्व चयन गर्नु पर्छ भन्नेहरुलाई रातारात अनाधिकृत बनाइयो।

हलको अगाडि बसेर म ती कमरेडहरूको अनुहार हेर्दै सोच्दै थिएँ के उहाँहरूले आफ्नो युवाकाल बिर्सिनुभयो? के पञ्चायतविरुद्ध लड्दा उहाँहरूले पनि यस्तै सेलेक्सन भोग्नुभएको थियो? कि सत्ताको कुर्सीमा पुगेपछि विद्रोहको आगो निभ्छ र केवल आदेशको भाषा बाँकी रहन्छ? तपाईंहरूले जुन व्यवस्था बदल्न रगत बगाउनुभयो, आज त्यही व्यवस्थाको तानाशाही शैली आफ्नै कार्यकर्तामाथि किन लाद्दै हुनुहुन्छ? यो कस्तो क्रान्ति हो?

प्रकाश पौडेलको पक्षमा लागेका प्रतिनिधिहरूलाई गलाउन, थकाउन र तर्साउन राज्यशक्तिको चरम दुरुपयोग भयो। स्रोत र शक्तिको असीमित प्रयोग गरियो। प्रकाश पौडेलको पक्षमा नलाग्नुस्, तपाईंको राजनीतिक भविष्य सकिन्छ भन्दै आउने फोन कलहरूको सामना गर्न म आफैँ पुगे।यो धम्कीले हामीलाई डराउनुको सट्टा झन् आक्रोशित बनायो। हाम्रो रगत उम्लिरहेको थियो।

सौहार्दपूर्ण रुपमा हामी प्रतिनिधिहरुले आफ्नो मताधिकारको रक्षा गर्दै निर्वाचन सम्पन्न भएपश्चात नतिजा आउनुअघिको त्यो रात सायद मेरो जीवनको सबैभन्दा लामो रात थियो। निद्रा परेन। मनमा हजारौँ प्रश्नहरू थिए के हामीले ठीक गरिरहेका छौँ? कतै हाम्रो यो विद्रोहले हामी सबैको राजनीतिक भविष्य सधैँको लागि अन्धकारमा त धकेल्ने छैन? ऐनामा आफ्नो अनुहार हेरेँ, मलाई लाग्यो आफ्नै आत्मालाई धोका दिएर पाएको भविष्यभन्दा विद्रोह गरेर पाउने पराजय धेरै गौरवपूर्ण हुन्छ।

नतिजा जे भएपनि, हामीले लड्यौँ कमरेड, त्यो नै ठूलो कुरा हो हल बाहिरको चिसो सिँढीमा बस्दा एकजना साथीले काँधमा हात राखेर भनेको अहिले पनी मेरो कानमा गुन्जिरहेको छ । लोकतन्त्रको लागि लड्नु कहिल्यै हार हुँदैन। त्यो सानो वाक्यले दिएको ऊर्जा कुनै ठूलो भाषणले दिन सक्दैनथ्यो। हामी डराएनौँ, हामी झुकेनौँ। प्रकाशको अडान जति दबाब बढ्दै गयो चट्टानजस्तै दृढ बन्यो। उनको पछाडि हामी हजारौँ प्रतिनिधिहरू त्यही चट्टानको जग बनेर उभियौँ।

पार्टी नेतृत्वको आदेशविरूद्ध अनेरास्ववियुमा चुनाव निश्चित भयो। अध्यक्षमा प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दर्ता गरे। उपाध्यक्षमा ९ जना, महासचिव र उपमहासचिवमा तीन तीन जनाको उम्मेदवारी दर्ता भयो। सचिवहरूमा उम्मेदवारी दिनेको संख्या ३६ पुगेको थियो। यसरी स्वःस्फूर्त भइरहेको चुनावमा पार्टी महासचिव शंकर पोखरेल उनकी पत्नीसमेत रहेकी पोलिटब्युरो सदस्य सुजिता शाक्य, भानुभक्त ढकालसहितका नेता मिलेर प्यानल बनाइएको गाईगुई विच प्रधानमन्त्रीको कार्यालय मात्र होइन, लुम्बिनी र कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयसमेत दुरूपयोग गरेको, पार्टीको नीति र प्रतिनिधिहरूको इच्छाविपरीत चिट बाँडिएको, प्रतिनिधिहरूको मत हाल्ने वैधानिक अधिकार कुण्ठित हुने गरी फर्जी मतको समेत प्रयास भएको धेरै प्रतिनिधिले सुनाउँदै गर्दा मलाई हार जित भन्दा पनि लोकतन्त्रले जितेकोमा खुशी र गर्व थियो।

अन्ततः त्यो रात आयो।

विद्युतीय मतदानको प्रक्रिया सकिएपछि हलमा सास रोकिएजस्तो सन्नाटा थियो। निर्वाचन अधिकृतले अन्तिम परिणाम घोषणा गरे विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ प्रतिनिधी मध्ये खसेको १४५० मतमा डा. सुजन कडरिया ७३२ मतप्रकाश पौडेल ७२५ मत ।त्यो क्षण समय नै रोकिएजस्तो भयो। प्रकाश पौडेल ७ मतको झिनो अन्तरले पराजित भए।

त्यो खबरले हाम्रो मुटु चस्स बिझ्यो। कतिपय साथीहरूका आँखाबाट आँसु खसे। त्यो ७ भोटको हार अंकगणित मात्र थिएन। त्यो त राज्यको पूरै शक्ति, पार्टीको सिंगो संस्थापन पक्ष र हर किसिमको प्रहारको नतिजा थियो। त्यो हारले हामीलाई मात्र नभई प्रणालीलाई नै गिज्याइरहेको थियो।

सोहि क्षण पृष्ठभूमि कसैले मदन भण्डारीको सम्झनामा गाइएको त्यो मार्मिक गीत गुन्जाईरहेका थिए

देशभक्त छोरो मर्दा देशै रुँदो रहेछ…”

त्यो रात प्रकाश पौडेलको राजनीतिक शहादत भएको थियो। उनले पद हारेर पनि लोकतन्त्रको लागि, विधिको लागि र हामी हजारौँ प्रतिनिधिको स्वाभिमानको लागि आफूलाई बलिदान दिएका थिए। उनी हारेर पनि जितेका थिए। सेलेक्सनलाई घुँडा टेकाएर निर्वाचनको प्रक्रियासम्म पुर्‍याउनु नै हाम्रो सबैभन्दा ठूलो जित थियो।

चुनाव सकिएपछि धेरैले सोचे प्रकाश पौडेल अब गुमनाम हुनेछन्। उनीहरूले आफ्नो डियर कमरेडलाई चिन्न सकेका रहेनछन्। विभेदमा विद्रोह र विपत्तिमा सहारा बनेर बागलुङमा विद्यार्थीको लागि काठेपुल बनाउँदा होस् वा पोखरामा मेडिकल कलेजको लुटविरुद्ध आन्दोलन गरेर विद्यार्थीको पैसा फिर्ता गराउँदा होस्, उनले राजनीति पद होइन, सेवा हो भन्ने प्रमाणित गरे। यो दया वा समाजसेवा मात्र नभई कम्युनिस्ट आन्दोलनको व्यावहारिक प्रयोग हो। मार्क्सवादलाई जनताको जीवनसँग जोड्ने यही तरिका हो।

सत्ताले एउटा मुना निमोठ्न सक्छ तर त्यो निमोठिएको ठाउँबाट हजारौं हाँगाहरू पलाउँछन्। आज एउटा प्रकाशलाई रोक्न खोज्दा, अनेरास्ववियु र एमालेभित्र हजारौं प्रकाशहरू जन्मिने विद्रोहको बीउ रोपिएको छ।  

राजनीति भनेको पद मात्र होइन, जनताको सेवा हो।बाढीपीडितको घाउमा मलम लगाउन होस् वा अन्य सामाजिक संकटमा परेकालाई सहयोग गर्न, उनले देशभरका युवालाई समेट्दै नयाँ ऊर्जाका साथ मैदानमा उत्रिदैं हारको घाउमा खाटा नबस्दै हिजो उनले अभियान सहाराको घोषणा गर्दै हामीलाई निराश हुन दिएनन्।

डियर कमरेड चलचित्रमा बबीले भनेजस्तो कमरेड त्यो होइन जसले शक्तिको पूजा गर्छ। कमरेड त्यो हो जसले प्रकाश पौडेलले जस्तै सत्यको लागि लड्छ। कमरेड त्यो होइन जसले झुक्न सिकाउँछ, कमरेड त्यो हो जसले अन्यायविरुद्ध उठ्न प्रेरित गर्छ।

आज हरेक दिन हजारौँ युवाहरू यो देशमा केही हुन्न भन्ने निराशा बोकेर एयरपोर्टको लाइनमा उभिँदा, हामी आफ्नै पार्टीभित्र एउटा सानो लोकतान्त्रिक स्पेसको लागि लडिरहेका थियौँ। प्रकाश पौडेलको अखिल २.० को सपना ती युवाहरूलाई देशमै रोक्ने एउटा आशाको त्यान्द्रो थियो। त्यो ७ भोटको हार प्रकाश पौडेलको मात्र हार नभई यो देशमै केही गर्छु भन्ने सपना बोकेका हजारौँ युवाहरूको सपनामाथिको प्रहार थियो।

हाम्रो लडाइँ केवल सेलेक्सन विरुद्ध थिएन, योग्यलाई पाखा लगाएर अयोग्यलाई अवसर दिने सिन्डिकेट कल्चर, चाकडीतन्त्र विरुद्ध थियो । यही कल्चरले गर्दा आज हाम्रो देश पछाडि परेको हो।

त्यो ७ भोटको हार वास्तवमा एमालेभित्रको जडता र अलोकतान्त्रिक चरित्रको हार हो। यो एउटा ननिभ्ने आगो जस्तो विद्रोहको सुरुवात हो ।

हामीले लडाइँ हारेका छैनौँ, लडाइँको एउटा मोर्चा मात्र पूरा गरेका छौँ।

यो लामो लडाइँमा, हाम्रो डियर कमरेड को हो हामीलाई थाहा छ।

विपत्तिमा सहारा विभेदमा विद्रोह जारी छ…

Source: cnnkhabar.com

निक्षेप कार्की

Leave a Comment