म्याग्दीका ग्रामिण क्षेत्रका सडकखण्ड कालोपत्रे र ढलान भएपनि यात्रुहरू कच्ची सडककै भाडा तिर्न बाध्य छन् । बेनी नगरपालिका–६,बाँसबोटमा सदरमुकाम बेनीबाट करिब ४ किलोमिटरमा यात्रुले जीपमा १ सय रुपैयाँ तिर्ने गरेका छन् । बेनी-अर्थुङ्गे-पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा कालोपत्रे र ढलान भएपछि यात्राअवधि छोटिएपनि बोलेरो, जीपले मनपरी भाडा असुल्ने गरेको यात्रुको गुनासो छ ।
बेनी-पुलाचौरको भाडा साढे २ सय रुपैयाँ रहेको छ । पछिल्लो समय ट्याम्पुले समेत ग्रामिण क्षेत्रमा यात्रु बोक्न थालेपनि भाडादरमा एकरुपता छैन् । बेनी-अर्थुङ्गेसम्म ५० रुपैयाँ र अर्थुङ्गे-बाँसबोट ५० रुपैयाँ लिने गरिएको छ । अर्थुङ्गे र बाँसबोटको दुरी जम्मा १ किलोमिटर छ । भाडादर निर्धारण समितिले यस क्षेत्रको भाडादर कायम नै नगरेकाले बेनी–घतान सडक कालोपत्रे भएपनि मनलाग्दी भाडा लिने गरिएको छ ।

कालोपत्रे भएको सडकखण्डमा प्रति किलोमिटर ५–७ रुपैयाँ र ग्रामिण कृषि सडकमा प्रतिकिलोमिटर १५ रुपैयाँका दरले भाडादर कायम भएको थियो । ‘पिच भएको सडकमा भाडादर धेरै भयो,यसलाई नियमन गर्ने निकायले चासो दिएका छैनन’ बाँसबोटका यूवा भगवान पौडेलले बेनीअनलाइनलाई बताउनुभयो ।
कालोपत्रे सडकमा कच्चीको भाडा लिन तत्काल बन्द गर्नुपर्ने यात्रुको भनाई छ । दुई बर्ष अगाडी नै जिल्लाभर कालोपत्रे र ढलान सडकमा कच्ची सडकभन्दा आधा भाडादर कायम गर्ने निर्णय प्रभावकारी कार्यान्वयन हुन सकेको छैन्।

स्थानीय जनप्रतिनिधिले सम्बन्धित निकायमा भाडा समायोजनको माग गर्ने गरेका छन् । स्थानीय तहले आयोजना गर्ने सार्वजनिक सुनुवाईमा समेत सर्वसाधारणले कच्ची सडकको भाडा लिने गरिएको भन्दै आवाज उठाउने गरेपनि जनप्रतिनिधिबाट समायोजनका लागि पहल गर्ने आश्वासन बाहेक केही हुन सकेको छैन ।

बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सडकमा चल्ने भाडाका सवारीसाधन, समान ढुवानी गर्ने बोलेरो जिपले मनलाग्दी भाडा लिने गरेका छन् । बि.स २०८० साल जेठ ५ गते तोकिएको भाडादर नै जिल्लामा कायम छ ।
यता कालोपत्रे र ढलान गरिएको सडकमा कच्ची सडकको भाडा असुल्ने गरिएको गुनासोलाई सरोकारवाला निकायसँगको भेलाबाट सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो । ‘गुनासो सम्बोधन गरी भाडा समायोजनका हुन्छ,चाँडो भाडा घटाउने प्रयास गर्छु’ प्रजिअ ढकालले भन्नुभयो। विगतका बर्षमा जनस्तरबाट चर्को विरोध र दवाबका कारण विगतमा भाडा समायोजन भएको थियो ।