म्याग्दीमा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेजीको निर्णय सच्याउन माग गर्दै म्याग्दीका राजनीतिक दल र जिल्ला समन्वय समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
खानेपानी मन्त्रालयको गत २०८१ चैत १९ को मन्त्रीस्तरीय निर्णयअनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय पोखरामा गाभिन निर्णय गरेपछि सोमबार जिल्ला समन्वय समितिमा बसेको सर्वदलीय बैठकले हाल जिल्लामा सञ्चालनमा रहेको बृहत घोप्टेखोला खानेपानी, बृहत चिमखोला भगवती खानेपानी लगायतका आयोजनाहरुलाई प्रत्यक्ष असर गर्ने भएकाले निर्णयलाई तत्काल स्थगित गर्न माग गरेको हो ।

जिसस कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले हिमाली जिल्ला म्याग्दीमा रहेको कार्यालयलाई नै प्रदेशमा लैजाने प्रक्रिया गत बैशख ३० गते सम्पन्न भएको जिल्ला सभाको निर्णय गरेपनि बेवास्ता भएको बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमाले म्याग्दीका उपसचिव खड्ग गिरी, नेकपा माओवादी केन्द्रका संयोजक शेर बहादुर केसी, राष्ट्रि«य स्वतन्त्त पार्टीका सभापति यूवराज रोका, राष्ट्रि«य प्रजातन्त्र पार्टीका सचिव देबेन्द्र घिमिरेको उपस्थिती रहेको थियो ।
हिमाली जिल्लामा आयोजना थप गर्नुपर्नेमा उल्टै कार्यालय लैजाने प्रक्रियालाई तत्काल रोक्न आवश्यक थप कदम चाल्ने बताइएको छ । सर्बदलिय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, उर्जा तथा जलस्रोत तथा सिचाई मन्त्रालय, खानेपानी तथा ढल ब्यवस्थापन विभागलाई पत्राचार गरिएको निमित्त समन्वय अधिकारी अमृत सुबेदीले बताउनुभयो ।
म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा सङ्घीय सरकारले सञ्चालन गरेका खानेपानी तथा ढल ब्यवस्थापनसम्बन्धी आयोजना कार्यान्वयनका लागि विसं २०७७ मा बेनीमा कार्यालय स्थापना गरिएको थियो ।
यसअगाडी जिल्लाबाट भु संरक्षण कार्यालय पर्वत स्थानान्तर हुदाँ जिल्लामा अहिले बजेट समेत न्युन छ भने भु संरक्षणका गतिविधि समेत सुस्त गतिमा रहेको छ ।
कार्यालयमार्फत हिमाली जिल्लामा एक हजार र पहाडीमा पाँच हजार बढी जनसङ्ख्या भएका खानेपानीका साथै ढल ब्यवस्थापनसम्बन्धी आयोजना कार्यन्वयन हुने नीतिगत व्यवस्था छ । कार्यालयमा सिनियर डिभिजनल इञ्जिनियरको नेतृत्वमा तीन इन्जिनियर, तीन सव–इन्जिनियर, एक लेखापाल, एक नायव सुब्बा, एक कम्प्युटर अपरेटर, एक कार्यालय सहयोगी र एक जना हलुका सवारी चालकको दरबन्दी छ ।