---Advertisement---

 किन झ्याप्प झ्याप्प जान्छ बिजुली ?

On: July 14, 2025 10:06 PM
Follow Us:

 पटक पटक विद्युत सोवाा अवरुद्ध हुँदा पर्वतसहित आसपासका जिल्लाबासी हैरान भएका छन् । दैनिक दर्जनौँ पटकसम्म अचानक बिजुली आउने र पूर्व सूचनाविनै आकस्मिक रूपमा बिजुली काटिँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । विभिन्न विद्युतीय उपकरणहरूमा असर परिरहेको भन्दै उपभोक्ताले आक्रोश पोख्ने गरेका छन् ।

पटक पटक बिजुली काटिँदा कम्प्युटर, राइस कुकुर, मोबाइलका चार्जर, विद्युतीय केटल, लगायतका उपकरणहरू प्रत्यक्ष प्रभावित हुँदा ‘हाइ’ र ‘लो’ ‘भोल्टेज’ का कारण क्षति पुग्ने गरेको उपभोक्ताको गुनासो छ । पर्वत सदरमुकाम कुश्मा बजारसहित जिल्लाका विभिन्न स्थानसहित बागलुङ र म्याग्दी जिल्लामा पनि पटक पटक बिजुली अवरुद्ध हुने गरेको छ । 

विद्युत वितरण केन्द्र पर्वतले कतिपय अवस्थामा बिजुली जडान भएका केन्द्रहरू, उत्पादन भएका केन्द्रहरू, वितरण केन्द्र लगायतका स्थानमा समस्या आउँदा त कतिपय अवस्थामा मौसमका कारण समस्या आउने गरेको बताएको छ । केन्द्रका प्रमुख प्रितमराज विष्टले मौसम मुख्य कारण रहेको र मोदी सवस्टेशनका कारण पनि विद्युत आपूर्ति अवरुद्ध भइरहेको बताउँछन् ।

विगत तीन वर्षको अवधिमा सबैभन्दा धेरै पटक यो समयमा विद्युत आपूर्तिमा समस्या रहेको स्वीकार्दै विष्टले यसलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन् । पर्वत जिल्ला र यस आसपासका क्षेत्रमा विद्युत प्रवाहमा भइरहेको समस्याका कारण वितरण केन्द्रले प्राविधिक कारण मात्र भन्ने गरेको छ । दैनिक दर्जनौँ पटक हुने विद्युत आपूर्तिको समस्या केबल प्राविधिक कारण देखाउने गरिएको छ ।  पटक–पटक बिजुली काटिने समस्या आएर नागरिकको गुनासो र अवरुद्ध हुनुको कारणबारे प्रश्नहरू गरिएपछि नेपाल विद्युत प्राधिकरणको बागलुङ वितरण केन्द्रले त्यसका कारणहरूबारे जनतालाई स्पष्ट पारेको छ । केन्द्रीय ‘लाइन’ मा प्राविधिक खराबीको कारण आइतबार बिहान करिब एक घण्टा र साँझ करिब तीन पटक गरी दुई घण्टा बढी बागलुङ जिल्लामा पनि लाइन अवरुद्ध भएको बताएको छ ।

विद्युत अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेको भन्दै केन्द्रले अवरुद्ध हुनुको कारणबारे आफूलाई आएको जानकारी उपभोक्तालाई दिएको हो । आइतबार ढल्केबर चार सय केभी सबस्टेशनको एक सर्किटमा आएको खराबीले केन्द्रीय लाइन सन्तुलनमा नहुँदा विद्युत प्रणालीमा नै खराबी आई बिजुली नआएको केन्द्रले बताएको छ । आइतबार साँझ बुटवलदेखि भरतपुरको दुई सय २० केभी ‘ट्रान्समिसन लाइन’ मा प्राविधिक समस्या आई दुई÷तीन पटक केन्द्रीय विद्युत गएको उसको भनाइ छ ।

‘केन्द्रीय लाइनमा खराबी आउँदा बिजुली यति लामो समय किन जान्छ होला ?’ भन्ने प्रश्नको जिज्ञासामा वितरण केन्द्रले केन्द्रीय ‘लाइन’ हेर्ने जिम्मा ‘लोड डिस्प्याच सेन्टर’ काठमाण्डौंबाट हुने र देशभरि नै ‘पावर हाउस’ लाई उत्पादन र ‘लोड’ दिने पालो मिलाउने गरिएको बताएको छ । जसले गर्दा पालै पाले देशभर विद्युत आपूर्ति हुँदा जाने केन्द्रले उल्लेख गरेको छ । बागलुङमा बिजुली आउनका लागि पोखराका लेखनाथ सवस्टेशनपछि लाचोक सवस्टेसन, त्यसपछि कुरुँगा सवस्टेसन, त्यसपछि मोदी पावर हाउस, त्यसपछि पर्वत सवस्टेशन र त्यसपछि मात्रै बागलुङको राम रेखा सवस्टेशनमा बिजुली आउने भएकोले समय लाग्ने गरेको केन्द्रको दाबी छ ।

‘म्याग्दीको पावर हाउस हुँदासमेत बिजुली किन आउँदैन?’ भन्ने जिज्ञासाको मेटाउँदै केन्द्रले म्याग्दीमा रहेका वा देशभर रहेका कुनै पनि विद्युत ‘पावर हाउस’हरू केन्द्रीय लाइनमा नजोडिएसम्म उत्पादन गर्न नसक्ने बताएको छ । प्राविधिक भाषामा भन्दा एक अर्कामा जोडिएर ‘सिङ्क्रोनाईज’ हुन नसक्ने र त्यसमा पनि पनि म्याग्दीमा उत्पादित विद्युत् धुर्कोट पाङको सवस्टेशन हुँदै दुई सय २० केभी ‘ट्रान्समिसन’ मार्फत बुटवल जाने गरेको छ ।

धुर्कोट पाङबाट बागलुङ ल्याउन नजिक भए पनि हालसम्म नल्याइएकाले तथा अहिलेको बागलुङ विद्युतबाट व्यापक मागपछि बल्ल ठेक्का प्रक्रियामा गएको भन्दै बागलुङ वितरण केन्द्रले अहिले बागलुङ विद्युताक कारण विद्युत नगएको दाबी गर्दै केन्द्रीय प्रसारणमा आएको समस्याकै कारण पटक पटक बिजुली आउने र जाने गरेको बताएको छ । बागलुङ वितरण केन्द्रले उपभोक्तालाई बताएको कुरा नै सत्य भएको भन्दै पर्वत वितरण केन्द्रले समेत समस्या साझा भएको र समाधानको उपाय पनि एकै भएको उल्लेख गरेको छ ।

Leave a Comment