म्याग्दीका ग्रामिण क्षेत्रमा चल्ने सार्वजनिक तथा रातो नम्बर प्लेटका सवारी साधनबाट यात्रु भाडामा ठगिँदै आएका छन् । पक्की सडकमा कच्ची सरह भाडा असल्ने गरेका यातायात ब्यवसायीले पेट्रोलियम पदार्थको भाउ बढेको वा अन्य विभिन्न बहानामा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने गरेको पाइएको छ ।
जसको एक उदाहरण बेनी नगरपालिका–६,एकपाटे बेनीबाट पाँच किलोमिटरको दुरीमा रहेको छ । यहाँ पुग्ने यात्रुले दुई सय भाडा तिर्ने गरेका छन् । यात्रुलाई सवारीसाधनका चालकले आफुँ अनुकुल साढे २ सय रुपैयाँ सम्म लिने गरेको पाइएको छ । एक किलोमिटरको दुरीको पक्की सडकमा १ सय रुपैयाँसम्म भाडा असुल्ने यातायात ब्यवसायीहरूलाई कारवाही गर्नुपर्नेमा सरोकारवाला निकाय नै मौन छन् ।

नेपाल सरकारले सार्वजनिक यातायातको मान्यता दिएको बाहेक बोलेरो जीपले यात्रु बोक्ने, सामान ढुवानी गर्ने ट्याक्टरले समेत भाडा लिएर यात्रु बोक्ने म्याग्दीका ग्रामिण सडकको अवस्था हेर्दा राज्यको उपस्थिति कमजोर देखिन्छ । कालोपत्रे र ढलान गरेको सडकमा कच्ची सडकको भाडा लिएको दृष्य हेर्दा सडक ग्रामिण सडकमा यात्रु बोक्ने सवारीसाधन चालक र धनीको कब्जामा भएजस्तै देखिन्छ ।

बि.स २०८० साल जेठ ५ गते सार्वजनिक सवारी साधनले भाडादर निर्धारण समितिले तोकेभन्दा १ रुपैयाँ बढी पनि भाडा लिन नपाउने बताइएपनि प्रशासनले पनि यात्रुसँग सोधपुुछ नगर्नु, प्रभावकारी अनुगमन नगर्नु र उजुरी नआएको निहुँ गरी आँखा चिम्लिदिँदा भाडामा सर्वसाधारण ठगिनुपरेको छ । अर्कोतर्फ यात्रु आफैं पनि तोकिएको भाडादरबारे सचेत नहुनु, चालक वा सहचालकले जति माग्छन्, चुपचाप त्यति नै भाडा दिनुले पनि ठगीमा मलजल पुगिरहेको छ।
सवारी साधनले आफूखुसी भाडा लिइरहेकोबारे स्थानीय प्रशासन सूचित नभएको होइन। तर, नियमन फितलो हुँदा यात्रुले सास्ती पाइरहेका छन्। जिल्ला प्रशासन, प्रहरी र ट्राफिक प्रहरीका जिल्ला कार्यालय नजिकैबाट सवारी साधनले मच्चाइरहेको ‘लुट’ चाहिँ देखेको नदेख्यै गरिरहेको यात्रुको गुनासो छ ।
यात्रु ठगिनुमा बढी भाडा लिने सवारीसाधनका बारेमा उजुरी नगर्ने पनि प्रमुख समस्या हो । सवारी चालक र व्यवसायी आफैंले ‘अघोषित’ भाडा तोकेर यात्रुबाट असुलिरहेको कार्य तत्काल बन्द गर्नुपर्छ । यात्रु ठगिने, नियमन गर्ने निकायहरू टुलुटुलु हेर्ने दृष्यको अन्त्य गर्न अब कच्ची र पक्की सडकमा नयाँ भाडदर कायम गर्नुपर्छ । बेनी साप्ताहिक पत्रिकामा प्रकाशित