---Advertisement---

विद्योदय आधारभूत विद्यालयमा सिसिटिभी जडान, थप आर्थिक सहयोगको अपिल

On: July 16, 2025 10:35 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-१० वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले विद्यार्थी सुरक्षा, अनुशासन र पारदर्शी शिक्षण वातावरण सिर्जना गर्ने उद्देश्यले विद्यालय परिसरमा सिसिटिभी जडान गरेको छ । सम्भवतः जिल्लामै पहिलोपटक आधारभूत तहकै विद्यालयबाट यस्तो प्रविधि प्रयोग गरिएको यो प्रयासले शैक्षिक क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।

विद्यालय परिसरका प्रवेशद्वार, कक्षा क्षेत्र, खेलमैदान तथा क्रियाकलाप क्षेत्रहरूमा निगरानी गर्ने उद्देश्यले करिब एकलाखकाे लागतमा ६ वटा सिसिटिभी जडान गरिएको छ । यस कार्यले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नुका साथै विद्यालय प्रशासन, शिक्षक र अभिभावकबीच विश्वास र पारदर्शिता कायम गर्न सहयोग गर्ने विश्वास लिइएको छ।

विद्यालयका निमित्त प्रधानाध्यापक तथा सूचना अधिकारी अमृता जिसी रोकाले विद्यालयले पछिल्लो समय पारदर्शिताको अभ्यास गर्दै विश्वसनीयता पुनःस्थापना गर्ने प्रयासस्वरूप सिसिटिभी जडान गरेको जानकारी दिनुभयो। “अब विद्यालय परिसरमा हुने गतिविधिहरू प्रत्यक्ष निगरानीमा रहनेछन्, जसले सुरक्षा र जवाफदेहिता दुवैमा सुधार ल्याउनेछ,” उहाँले भन्नुभयो।

विद्यार्थीको समुचित निगरानी, कक्षा व्यवहार, सम्पत्ति सुरक्षा, अभिभावक–शिक्षक समन्वय र संकट व्यवस्थापनमा सिसिटिभी उपयोगी हुने बताइएको छ। विद्यालयले हालै ‘एक कक्षा, एक प्रोजेक्टर’ अभियान र ‘विद्यालयको आफ्नै मोबाइल एप्लिकेशन’ निर्माणको कार्य समेत सुरु गरेको छ ।

विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुजन पुनका अनुसार प्रविधिको प्रयोगमार्फत सिकाइलाई प्रभावकारी बनाउने र व्यवस्थापनलाई पारदर्शी बनाउने उद्देश्यले यस्ता कदम चालिएको हो। “हामी शैक्षिक गुणस्तरसँगै शारीरिक सुरक्षा, भावनात्मक समर्थन र प्रविधिमैत्री वातावरणका पक्षमा एकसाथ अघि बढिरहेका छौं,” शिक्षक पुनले बताउनुभयो।

विद्यालयमा सिसिटिभी जडान र प्रविधिसम्बन्धी अभियानहरु अभिभावक, स्थानीयवासी र शुभेच्छुकको सहयोगमा सम्पन्न गरिएको भए पनि अबका चरणहरूमा थप प्राविधिक तथा आर्थिक सहयोगको आवश्यकता रहेको जनाइएको छ ।

विद्यालयका अनुसार सिसिटिभीको नियमित मर्मत, मोबाइल एप्लिकेशन सञ्चालन, प्रत्येक कक्षामा प्रोजेक्टर स्थापना तथा इन्टरनेट पूर्वाधार विस्तारका लागि स्थानीय सरकार, संघ–संस्था, पूर्वविद्यार्थी तथा शिक्षाप्रेमीहरूबाट सहयोगको अपिल गरिएको छ ।

बालविकासदेखि ८ कक्षा सम्म पढाइ हुने विद्यालयमा ९ जना शिक्षक र दुुई जना कार्यालय सहयोगीको भरमा करिब ८० जना विद्यार्थीहरुले आफ्नो भविष्य खोजिरहेका छन् । विकट हिमाली क्षेत्र म्याग्दी विद्योदय विद्यालयको यो प्रयास जिल्लामा प्रविधिको प्रयोगमार्फत शिक्षामा उत्तरदायित्व, पारदर्शिता र सुरक्षा सुनिश्चित गर्ने दिशामा अनुकरणीय नमूना बनेको शिक्षा क्षेत्रका सरोकारवालाहरूको भनाइ छ। विद्यालयकाे हरेक गतिविध www.vbsbeni.edu.np मा हेर्न सकिन्छ ।

Leave a Comment