---Advertisement---

म्याग्दीकी रिक्जना बोटे लुम्बिनी लाभाजमा अनुबन्ध

On: July 18, 2025 9:20 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–५,पोक गाउँकी रिक्जना बोटे दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजमा अनुबन्ध भएकी छन् । शुक्रबार भएको अक्सनमार्फत रिक्जनलाई लुम्बिनीले टिममा अनुबन्ध गरेको हो । यो भलिबल क्षेत्रमा म्याग्दीका लागि निकै सुखद् खवर हो । गत असारमा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश चौथो हुँदा रिक्जना प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भएकी थिइन् ।

अक्सनमार्फत ४२ खेलाडी अनुबन्ध हुँदा गण्डकी प्रदेशको टिमबाट रिक्जना मात्रै परेकी छन् । म्याग्दीमा विद्यालयस्तरमा एथलेटिक्स र भलिबल खेलमा उत्कृष्ट खेलाडी रिक्जना पछिल्लो समय एथलेटिक्स विधालाई छोडेर भलिबलमा केन्द्रित भएकी थिईन् । मंगला माविबाट एसईई दिएकी रिक्जनाको उत्कृष्ट भलिबलले अहिले गण्डकी प्रदेशमा चर्चा हुने गरेको छ ।


म्याग्दीबाट राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही, कमला पुनपछि अब रिक्जनाको बलियो उपस्थिती देखिने सम्भावना रहेको छ ।

जिल्ला भलिबल संघ, गण्डकी प्रदेश महिला भलिबल प्रशिक्षक मलिन रोकाले समेत रिक्जनालाई प्राथमिकता दिएर प्रशिक्षण सहित अवसर दिने गरेका छन् । २०८२ को सुरुआतमा भएको दुई राष्ट्रिय प्रतियोगितामा गण्डकीले खासै राम्रो प्रदर्शन गर्न नसक्दा पनि रिक्जनाले धेरैको मत जितेकी थिइन् । जसले रिक्जनालाई लुम्बिनि लाभाजसम्म पु¥याएको हो ।


प्रशिक्षक रोकाले छोटो समयमै गण्डकीबाट खेलेका खेलाडी लिगमा अनुबन्ध हुनु सुखद भएको बताए । उनले रिक्जना लिगमा अनुबन्ध हुँदा अन्य खेलाडीलाई पनि हौसला मिल्ने विश्वास व्यक्त गरे । भलिबलमा रिक्जनाको भविष्य उज्वल रहेको रोकाको भनाइ छ ।

एथलेटिक्स खेल्ने रिक्जनालाई प्रशिक्षक रोकाले नै टिममा समेटेका थिए । उनै मलिनले रिक्जनालाई नियमित प्रशिक्षण गराइरहेका छन् । आर्थिक अवस्था अत्यन्त विपन्न रहेको रिक्जनालाई विद्यालयस्तरमा उत्कृष्ट एथलेटिक्स खेलकै कारण मोना अन्तराष्ट्रि«यका सरक्षक हाल अमेरिकामा रहेका गुर्जाका अमर छन्त्यालले सहयोग गरेका छन् ।

Leave a Comment