---Advertisement---

गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

On: July 20, 2025 1:27 PM
Follow Us:

गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सराकोर भएका सबै पक्षलाई अनुरोध गरेको छ । आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक रूपमा सूचित गर्दै सावधानी र उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न भनेको छ ।

“गण्डकी प्रदेशका विभिन्न ठाउँमा गए रातिदेखि भएको वर्षाका कारण जनधनको क्षति भएका जानकारी आइरहेका छन् । वर्षाका कारण नदी, खहरे खोलाखोल्सी र तालहरुमा पानीको सतह निरन्तर बढिरहेको छ । यसले थप जोखिम निम्त्याएको छ । बाढी पहिरो, डुबीनको खतरा बढेको छ । यस्ता क्षेत्र वरपर बस्तीका नागरिकहरु सचेत रहनुहुन अनुरोध छ”, सूचनामा उल्लेख छ ।

प्रदेश सरकारले कहीँकतै विपत्तीमा परेका भए तुरून्त स्थानीय जनप्रतिनिधि, प्रहरी स्थानीय तह , प्रदेश सरकार र सङ्घीय सरकार मातहतका निकायमा खबर गर्न आग्रह गरेको छ । विपद्को सामना गर्न र प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा गण्डकी प्रदेश सरकार सँधै नागरिकको साथमा रहेको जनाइएको छ ।

Leave a Comment