साफ यू–१७ महिला फुटबल च्याम्पियनसिपका लागि गण्डकी प्रदेशबाट म्याग्दीका दुई खेलाडी छनौट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय यू–१७ महिला टिम निर्माणका लागि आयोजित प्रदेशस्तरीय छनोट कार्यक्रमबाट बेनी नगरपालिका वडा नं ७ न्यूरोडकी रिदिमा भट्टचन र बेनपा–४ थामडाँडाकी सञ्चिता गुरूङ केन्द्रिय टिमका लागि छनौटमा परेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । बेनीको न्यू वेष्ट पोइन्ट आवासीय माविमा अध्ययनरत भट्टचन गोलरक्षक र गुरूङ मिडफिल्डर हुनुहुन्छ ।
जिल्लास्तरीय छात्रा फुटबलमा उत्कृष्ट खेलाडी समेत रहनु भएका भट्टचन र गुरूङ विभिन्न चरणको प्रशिक्ष सहित केन्द्रिय टिममा छनौट भएपछि जिल्लाको छात्रा फुटबलका लागि समेत सुखद् खवर भएको जिल्ला फुटबल सघका अध्यक्ष कुमार बानियाँले बताउनुभयो ।साफ यू–१७ महिला फुटबल च्याम्पियनसिपका लागि म्याग्दीबाट ८जनाको सहभागिता रहेको थियो ।
पछिल्लो समय म्याग्दीमा नियमित छात्रा फुटबल तथा फुटसल समेत सञ्चालन हुन थालेपछि छात्रा खेलाडीलाई अभ्यासका लागि सहज भएको छ । आउँदो अगस्टमा भुटानको थिम्पुमा आयोजना हुने यू–१७ महिला फुटबलको केन्द्रिय टिममा पर्ने गरी केन्द्रिय छनौटका लागि जिल्ला खेलकुद विकास समितिले शुभकामना समेत दिएको छ ।