बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार भक्तजनको घुईचो लागेको छ । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट भक्तजन मन्दिरमा दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए ।

साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु पतिको दिर्घायु र अविवाहितहरु आफ्नो मनोकामना पूराको कामना गर्दै चोखो निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पूजा गर्छन्। भक्तजनहरुलाई सहज तरिकाले दर्शन गर्ने ब्यवस्था मिलाउन विभिन्न संघसंस्थाहरुले स्वयंसेवकहरु परिचालन गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनले समेत प्रवेशद्धारदेखि नै ब्यवस्थापन राम्रा भएकाले पूजाआजामा सजिलो भएको बताएका छन् । साउन महिनाभरी प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड ब्यवस्थापन समितिसँगको सहकार्यमा मन्दिर परिसरभित्र दिब्य आरतीको समेत शुभारम्भ भएको छ ।
सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ। कृष्णगण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ।गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकाररूपी चिन्ह मानवनिर्मित नभई आफै उत्पन्न भएको धार्मिक पुस्तकहरुमा उल्लेख छ । यसैबीच म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिवालय मन्दिर तथा जिल्लाका विभिन्न शिवमन्दिरमा समेत विहानैदेखि भक्तजनको भिड लागेको छ ।