म्याग्दीमा ७५ प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाको प्रमुख बाली हुने तल्लो क्षेत्रमा साउन महिनाको पहिलो सातासम्म प्रयाप्त बर्षा नहुदाँ नपरेको र सिचाईको अभावका कारणले धान रोपाइँमा कमी आएको हो ।साउन १ गते सम्मको तथ्याङ्क अनुसार जिल्ला भरमा धान रोपाइँ हुने कुल क्षेत्रफलको ७५ प्रतिशतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म बेनी नगरपालिकामा ७० प्रतिशत, मालिका गाउँपालिकामा ६५ प्रतिशत तथा रघुगंगा गाउँपालिकामा ८० प्रतिशत धानखेतमा रोपाइँ भएको छ ।
त्यसैगरी मंगला गाउँपालिकामा ८५ प्रतिशत, धवलागिरी गाउँपालिकामा ८० प्रतिशत र अन्नपूर्ण गाउँपालिकामा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । ‘साउनको दोस्रो सातासम्म रोपाई सकिन्छ,‘ प्रयाप्त बर्षा नहुदाँ पानीको मुल फुटेको छैन‘ प्रमुख बाँस्तोलाले भन्नुभयो । म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय १९ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ ।
त्यसमध्ये जिल्लामा ३ हजार ८ सय ०६ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा आ व २०८०÷८१ म प्रति हेक्टर ३ दशमलव मेट्रिक टन धान भएको थियो । गएको वर्ष १३ हजार ७ सय १ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ४ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा बाँकी जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।
म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने किसानले चासो देखाएका छैनन् । नदी किनारका फाँटहरूमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धान खेतीसमेत गर्ने गरिएको छ।
कृषिमा आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धान खेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिकहरू बताउँछन् । म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँ लगायतका बाली रहेका छन् । कुल जनसंख्याको अनुपातमा बार्षिक १५ सय मेट्रिकटन खाद्यबाली आयात गर्ने गरिएको छ ।