म्याग्दी नदीको बाढीले रिक्जना बोटेको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १८ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिंदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् ।
सुकुम्बासी परिवारकी रिक्जनाले पहिलोपटक मंगला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बि.स २०७९ सालमा एथ्लेटिक्सतर्फ एक्लै छ स्वर्ण पदक जितेकी थिइन् । मंगला माविबाट प्रतियोगितामा सहभागि भएकी रिक्जनाले जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा समेत लगातार दुई बर्ष एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदकसँगै उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी बनेकी रिक्जनाले गण्डकी प्रदेशमा समेत पदक जितेकी थिइन् । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेकी रिक्जना एथ्लेटिक्ससँगै अहिले भलिबलमा गण्डकी प्रदेशमा चर्चामा छिन् ।

धाबक बनेर नेपालका लागि पदक जित्ने सपना बुनेकी रिक्जना दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजमा गण्डकी प्रदेशबाट अनुबन्ध हुने एक मात्रै खेलाडी बनेकी छन् । अक्सनमार्फत भएको छनौटमा रिक्जनलाई लुम्बिनीले टिममा अनुबन्ध गरेको हो । गत असारमा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश चौथो हुँदा रिक्जना प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भएकी थिइन् ।
अक्सनमार्फत ४२ खेलाडी अनुबन्ध हुँदा गण्डकी प्रदेशको टिमबाट रिक्जना मात्रै परेकी छन् । म्याग्दीबाट राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही, कमला पुनपछि अब रिक्जनाको बलियो उपस्थिती देखिने सम्भावना रहेको छ ।
जिल्ला भलिबल संघ, गण्डकी प्रदेश महिला भलिबल प्रशिक्षक मलिन रोकाले समेत रिक्जनालाई प्राथमिकता दिएर प्रशिक्षण सहित अवसर दिने गरेका छन् । २०८२ को सुरुआतमा भएको दुई राष्ट्रिय प्रतियोगितामा गण्डकीले खासै राम्रो प्रदर्शन गर्न नसक्दा पनि रिक्जनाले धेरैको मत जितेकी थिइन् । जसले रिक्जनालाई लुम्बिनि लाभाजसम्म पु¥याएको हो । प्रशिक्षक रोकाले छोटो समयमै गण्डकीबाट खेलेका खेलाडी लिगमा अनुबन्ध हुनु सुखद भएको बताए ।
उनले रिक्जना लिगमा अनुबन्ध हुँदा अन्य खेलाडीलाई पनि हौसला मिल्ने विश्वास व्यक्त गरे । भलिबलमा रिक्जनाको भविष्य उज्वल रहेको रोकाको भनाइ छ । जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले रिक्जनामा सम्भावना रहेकाले आगामी दिनमा भलिबल प्रशिक्षण सँगै प्रोत्साहनका कार्यहरूलाई समेत प्राथमिकता दिनुपर्ने बताए ।आर्थिक अवस्था अत्यन्त विपन्न रहेको रिक्जनालाई विद्यालयस्तरमा उत्कृष्ट एथलेटिक्स खेलकै कारण मोना अन्तराष्ट्रि«यका सरक्षक हाल अमेरिकामा रहेका गुर्जाका अमर छन्त्यालले सहयोग गरेका छन् ।